प्रधानमन्त्री केपी ओलीद्वारा बाढीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढीले क्षति पुर्याएको नेकपा एमालेको केन्द्रीय कार्यालयको स्थलगत अवलोकन गर्नुभएको छ ।
ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर ओलीले त्यहाँको अवस्थाको अवलोकन गर्नुभएको हो । गत असोज ११ र १२ गतेको वर्षा पछि आएको बाढीले एमालेको केन्द्रीय कार्यालय डुबानमा परेको थियो ।
मंगलबार सिंहदारमा पार्टी संसदीय दलको बैठकपछि ओली पार्टी केन्द्रीय कार्यालय पुग्नु भएको थियो । अविरल वर्षा र बाढीका कारण कार्यालयको भुईँ तलमा पूर्णरुपमा डुबानमा परेको छ भने कार्यालय परिसर हिलाम्मे भएको छ ।
डुबानका कारण पहिलो तलामा रहेका पार्टीका महत्त्वपूर्ण कागजात, उपकरण लगायतका सामाग्री नष्ट भएका छन् । कार्यालयमा अहिले सरसफाइ सुरु भएको छ ।
ओलीलाई महासचिव शंकर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीलगायतले कार्यालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
कार्यालय डुबानमा परेको कारण एमालेको आजको सचिवालय बैठक समेत कार्यालयमा बस्ने सकेन । पार्टीको सचिवालय बैठक होटेलमा राखिएको थियो ।