काभ्रेमा अवरुद्ध सडक खुलाउन अमित लामाको सक्रियता
काठमाडौं । काभ्रेमा बाढी, पहिरोको कारण क्षतिग्रस्त सडक खुलाउन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष अमित लामाले सक्रियता देखाउनुभएको छ ।
गत असोज १० गतेबाट तीन दिनसम्म परेको अविरल वर्षाको कारण क्षति भएका जिल्लाका सडक निर्माणको लागि उहाँले सक्रियता देखाउनुभएको हो । काभ्रेमा बाढी, पहिरोले ठुलो धन, जनको क्षति भएको छ । बाढी पहिरोका कारण अधिकांश सडक क्षतिग्रस्त भएका छन् ।
वर्षाको कारण काभ्रेमा बीपी राजमार्ग र अन्य ग्रामीण सडकहरू समेत अवरुद्ध छन् । दशैँको बेलामा सडक अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा निक्कै समस्या भएको छ ।
नमोबुद्ध नगरपालिकाको नेपानेदेखि फालामेसाँघुसम्मको बाटो खुलाउन लामाले पहल कदमी लिनु भएको छ । उहाँको पहलमा आजबाट दुईवटा लोडर प्रयोग गरेर सडक खुलाउने काम सुरु भएको छ ।
भोलि अर्को मेसिन समेत थप गरेर कामलाई तीव्रता दिइने लामाले बताउनुभयो । दशैँ अघि नै सडक खुलाउने गरी काम गरिने उहाँले जानकारी दिनुभयो ।