बडादशैंको पाँचौं दिन, आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिँदै
काठमाडौं । बडादशैंको पाँचौं दिन, आज पनि आश्विन शुक्ल चौथी तिथि भएकाले कुष्माण्डा देवीकै पूजा-आराधना गरिँदैछ ।
बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि रहेकाे नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएकाे छ । समितिका अनुसार सूर्योदय हुँदा रहेको तिथिको आधारमा सोमबार चतुर्थीकै कर्म गर्न लागिएको हो ।
यद्यपि आइतबार पूरै अर्थात् ६० घडी नै चतुर्थी थियो । सोमबार बिहान ६ बजेर १६ मिनेटपछि पञ्चमी लाग्छ । घटस्थापनादेखि आज पाँचौं दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्ने समितिले जनाएकाे छ ।
नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा-आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मंगलबार गर्नुपर्छ ।
यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि समितिले जनाएकाे छ । दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले ९ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको पनि समितिले जनाएकाे छ ।
नवरात्रको चौथो दिन पूजा गरिने देवी कुष्माण्डा नवदुर्गा भगवतीकी चौथो रूप हुन् । कुष्माण्डा देवीलाई सृष्टिको प्रतीक मानिन्छ । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी देवीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकाले यी देवीलाई कुष्माण्डा भनिएको शास्त्रमा उल्लेख छ । आफ्नो मन्द मुस्कानद्वारा ब्रम्हाण्ड उत्पन्न गरेकाले यी देवीलाई कुष्माण्डादेवी भनिएको हाे । यीनलाई पृथ्वीको सृष्टिको आदिस्वरूप पनि मानिन्छ । कुष्माण्डा देवीको आठ हात भएका हुनाले उनको अर्को नाम अष्टभुजा देवी पनि हो । देवी कुष्माण्डाको सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा छन् भने अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमाला हुन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । त्यसैले कुष्माण्डा देवीलाई कुभिण्डोको बलि चढाइन्छ ।
कुष्माण्डा देवीको तेजको तुलना कसैसँग गर्न नसकिने धार्मिक विश्वास छ । अरू कुनै पनि देवता यी देवीको तेजको प्रभावलाई खप्न सक्दैनन् भन्ने विश्वास गरिन्छ । कुष्माण्डा देवीको भक्ति गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुने विश्वास छ । तातो रक्त समूह भएका मानव, चराचुरुंगी तथा चिसो रगत भएका माछा, सर्प लगायत सारा प्राणीको सिर्जना गर्ने शक्ति यी देवीमा रहेको शास्त्रहरुमा उल्लेख छ ।
घटस्थापनाको दिनदेखि नवरात्रसम्म दुर्गादेवीका नौ रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुईंचो लाग्ने गर्छ । काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।