१५ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज स्कन्दमाताको पूजा आराधना गरिँदै

प्रकाशित मिति :  २२ आश्विन २०८१, मंगलवार ०९:३९


काठमाडाैं । आज बडादशैं अन्तर्गत स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।

बडादशैंको अर्थात् नवरात्रको छैटौं दिन भए पनि आज पाँचौ दिनको कर्म स्वरुप नवदुर्गाकी पाँचौं स्वरूप स्कन्दमाताको पूजा आराधना गर्न लागिएकाे हाे । तिथी घटबढका कारण यस्ताे भएकाे हाे ।

यो वर्षको बडादशैंमा चतुर्थी २ दिन परेकाले आज मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चांग निर्णायक विकास समितिले जनाएकाे छ ।मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ । त्यसपछि षष्ठी लाग्छ ।

आज बिहानैदेखि देशभरका दुर्गा मन्दिर र शक्तिपीठमा भक्तजनको भीड लागेको छ । कमलको फूलमा आसन गरेकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उहाँलाई स्कन्द माता भनिएको शास्त्रहरुमा उल्लेख छ ।

स्कन्दमाताकाे काखमा सुपुत्र स्कन्दकुमार हनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकाले स्कन्दमातालाई पद्‍यासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह हुने धार्मिक मान्यता छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण स्कन्द माताकाे पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता,छैटाै दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

नवरात्रभर राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरीमा, नक्साल भगवती, भद्रकाली, इन्द्रायणी लगायत दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी भीड लाग्ने गर्छ । उपत्यकाबाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायत शक्तिपीठमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने बडादशैं ९ दिनसम्म मनाइन्छ । घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गरिन्छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !