आजदेखि मेलम्चीको पानी काठमाडौंमा
काठमाडौं । आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएकाे छ ।
मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार भएकाे सहमतिपछि आज बिहानदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गर्न लागिएकाे हाे ।
लामाे छलफलपछि सहमति जुटेकाे मन्त्री यादवले साेमबार राति सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे थियाे । ‘मेलम्ची क्षेत्र पुगेर स्थानीय जनप्रतिनिधि र संघर्ष समितिका पदाधिकारीसँग छलफल गरेर मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्न सहमति गरेका छौं, सहमतिसँगै मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने प्रक्रिया भोलिदेखि सुरु हुनेछ’- उहाँले लेख्नुभएकाे छ ।
छलफलका क्रममा हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरूले देखाएको सकारात्मक सहयोग र सहकार्यप्रति मन्त्री यादवले आभार व्यक्त गर्नुभएकाे छ ।
स्थानीय विकास र बाढीपीडितहरूको समस्याको समाधान गर्दै काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ र सफा पानी उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले जनाउनुभएकाे छ ।