२५ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उमाकुण्डमा मध्यमार्गी सडक खुल्यो, भित्र सडकमा पनि यातायात चल्ने

प्रकाशित मिति :  २२ आश्विन २०८१, मंगलवार १२:३४


काठमाडौं । वर्षाको कारण क्षतिग्रस्त भएको रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं ७ देखि १ सम्म पुग्ने मध्यमार्गी सडक सञ्चालनमा आएको छ ।

सडकमा गएको पहिरो लगायतका अवरोध हटाएर सो सडक सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो । रामेछापको सबैभन्दा उत्तरमा रहेको सो गाउँपालिका भूगोल र सदरमुकामसँगको दुरीको हिसाबले विकट रहेको छ ।

भूगोलको हिसाबले पनि जिल्लाको सबैभन्दा ठुलो उमाकुण्डमा भदौमा भएको वर्षाको कारण बिगारेको सडक सफा गरिनसक्दै पुन असोजका १० गतेदेखि लगातार तीन दिनसम्म भएको वर्षाको कारण आएको बाढी र पहिराले सडक, खानेपानीका योजना तथा कतिपय बस्तीमा समेत क्षति पुर्‍याएको थियो ।

वर्षाले क्षति पुर्‍याएका सडक डोजर लगाएर सफा गरी यातायात सञ्चालन हुने बनाइएको सुनुवारले बताउनुभयो । ‘गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको वडा नं १ देखि ७ सम्म जोड्ने मध्यमार्गी सडक क्लियर गरेका छौँ, त्यस्तै मन्थलीबाट गाउँपालिकाको केन्द्र र बाम्तीसम्म पुग्ने सडक पनि क्लियर भएको छ, वडा वडा जाने र बस्तीमा जोन अधिकांश भित्री सडक पनि सफा गरिएको छ, एका÷दुई बाँकी छन्, तिनको काम पनि दशैँ अघि नै सकिन्छ’, सुनुवारले भन्नुभयो ।

यता मन्थलीबाट वडा नं ७ भुजी जोडिने सडक पनि सञ्चालनमा आएको छ । मन्थलीबाट धोबी हुँदै ढाँडे झरेर भुजी पुग्ने सडक सञ्चालनमा आएकोले भुजी, गुप्तेश्वर लगायतका स्थानमा जाने यात्रीहरूलाई सहज भएको छ । ‘मोटामोटी सबै सडक सञ्चालनमा आएका छन्’, उमाकुण्ड गाउँपालिकाको प्रवक्ता समेत रहनुभएका वडा नं ७ का वडाध्यक्ष रुद्रमणि नेवारले भन्नुभयो ।

बाढी पहिरोले सो गाउँपालिकामा विभिन्न खाने पानीका योजनामा पनि क्षति पुगेको छ । तत्काल सञ्चालन गर्न सकिने त्यस्ता योजनामा गाउँपालिका र वडा कार्यालयहरूले पाइप उपलब्ध गराई अस्थायी रूपमा योजना सञ्चालन गराएका छन् ।

पहिरोको कारण वडा नं ३ को बस्ती नै जोखिममा परेको छ । त्यस विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराइएको गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो ।

सबै सडक सफा गरिएको र पानी पर्न छाडेकोले दशैँमा घर आउनेलाई बाटोको कारण भने समस्या नहुने उहाँले बताउनुभयो । कतै कुनै समस्या आएमा वडा कार्यालय वा गाउँपालिकामा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !