राष्ट्रपतिले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्नुहुने भएकाे छ ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिपतिबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रपतिकाे कार्यालयले विज्ञप्तिमार्फत जनाएकाे छ ।
इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जंगी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई अपराह्न ३ बजेदेखि ३ः३० बजेसम्म टीका तथा प्रसाद प्रदान हुने विज्ञप्तिमा उल्लेख छ ।
इच्छुक आम नागरिकका लागि अपराह्न ३ः३० बजे देखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गरिने कार्यक्रम छ । टीका ग्रहण गर्न आउने व्यक्तिका लागि मर्यादित पोशाक र प्रवेश गर्न प्रवेशद्वार नम्बर १ तोकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।













