२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आपसी सहयोग र सद्‍भावसाथ दशैं मनाउन, विपद् प्रभावितलाई धैर्यधारण गर्न प्रधानमन्त्रीकाे आग्रह

प्रकाशित मिति :  २६ आश्विन २०८१, शनिबार ०७:५७


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारी मनसाथ दशैं मनाउनुपर्ने अवस्था रहेकाे बताउनुभएकाे छ ।

विजया दशमीकाे अवसरमा शुक्रबार भिडियाेमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले हालै आएकाे विपद्‍का कारण यस वर्षकाे दशैं उल्लासमय हुन नसकेकाे बताउनुभयाे ।

प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सद्‍भाव साथ विजया दशमी मनाउन उहाँले सबैमा अनुरोध गर्नुभएकाे छ । परिस्थिति अनुसार दशैं मनाउन र मिल्नेहरुलाई टिका लगाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गर्नुभएकाे छ । ‘सबैलाई दशैं मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु’- प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ ।

दशैंकाे मुखमा आएकाे भिषण बाढी पहिराेका कारण २ सय बढी नागरिकले जीवन गुमाउनुपरेकाे, कति घाइते हुनुपरेकाे, धेरै जनधनकाे क्षति भएकाे, भाैतिक पूर्वाधार ध्वस्त भएका धेरै जना घरबारबिहीन हुनुपरेकाे अवस्थामा चाहेजस्ताे दशैं मनाउन नसकिएकाे उहाँले बताउनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले विपद् प्रभावितलाई धैर्य धारण गर्न आग्रह गर्नुभएकाे छ । ‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ, भारी मनसाथ दशैंको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था छ, म पनि रमाउन सकिरहेको छैन, सरकारको नेतृत्व गरिरहेकाे हुनाले मेराे काँधमा थप जिम्मेवारी, उहाँ (पीडित) हरूको आँसु पुछ्ने,उहाँहरुका घाउमा मलम लगाउने, पीडितलाई राहत दिने, पुनर्निर्माणका कामहरू गर्ने र चाडबाडको आवागमनलाई सहज-सुगम बनाउने उत्तरदायित्वमा म लागिरहेकाको घडीमा सबैलाई धैर्यधारण गर्न आग्रह गर्छु’- उहाँले भन्नुभयाे ।

सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै उहाँले आश्वस्त रहन पनि आग्रह गर्नुभएकाे छ । विपद्काे पीडामा परेकाहरुकाे पीडा हटाउन विश्वभर छरिएका नेपालीलाई सहयाेगकाे हात बढाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयाे । भइसकेकाे क्षति फर्काउन नसकेपनि पीडा सहेर अगाडि बढ्दै समाजलाई पहिलेकै अवस्थामा वा अझ सुन्दर संरचना निर्माण गरेर पुनस्स्थापित गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएकाे छ ।

विपद्‍बाट किसानहरुकाे अन्नबालीमा नाेक्सान भएकाे भन्दै प्रधानमन्त्री ओलीले त्यसकाे मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयाे ।  विपद् प्रभावितलाई अस्थायी बसाेबासकाे प्रबन्ध र खानपीनकाे प्रबन्ध गरिने उहाँले बताउनुभयाे ।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसपटक परिवारका सदस्यसँग बाहेक टिका लगाउने कार्यक्रम नराखिएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे । यसअघि ओलीले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाइदिने गर्नुभएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !