७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौंमा माओवादीको खबरदारी जुलुस

प्रकाशित मिति :  १० कार्तिक २०८१, शनिबार १३:५२


काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी जुलुस आयोजना गरेको छ ।

माओवादीले खबरदारी सभाअघि खबरदारी जुलुस गरेको हो । सरकारको एक सय दिन पूरा भए लगत्तै माओवादीले सरकारका विरुद्ध प्रदर्शन थालेको छ । भ्रष्टाचार  र बेथितिविरुद्ध भन्दै माओवादी केन्द्र वाग्मती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु आयोजना गरिएको हो ।

सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दै छ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेण्डा रहेको छ ।

सतहमा आएका ठूला भ्रष्टाचारका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानासाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्थाहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरू र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारी सभाको एजेण्डा राखिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटर ब्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारबाहीका लागि दबाब दिने तथा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्धनलाई पनि माओवादी केन्द्रले खबरदारी सभाको एजेण्डाको रूपमा अघि सारेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !