सरकार आफैँ कुहिएर झर्छ, हामीले ढाल्नु पर्दैन : प्रचण्ड
![](https://risingsunkhabar.com/wp-content/uploads/2024/10/Photo_1709195641.png)
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सो पार्टीले गरेको खबरदारी सभालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएका छ ।
शनिबार काठमाडौंमा आयोजित सरकार विरुद्धको खबरदारी कार्यक्रममा बोल्दै उहाँले यसको बेवास्ता गरे सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताउनुभयो । ‘सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको सङ्केत यही सभाले गरेको छ, म सरकारलाई गम्भीर रूपले लिन चेतावनी दिन चाहन्छु’, उहाँले भन्नुभयो ।
सरकारलाई हिजोको लापरबाही फेरि नदोहोर्याउन उहाँले खबरदारी गर्नुभयो । उहाँले बाढी पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन आग्रह गर्नुभयो ।
वर्तमान सरकार भ्रष्टाचार गर्न र भ्रष्टलाई जोगाउन बनेको उहाँले दाबी गर्नुभयो । ‘हामीलाई नयाँ सरकार बन्यो भनेर कुनै चिन्ता छैन तर यो सरकार के का लागि बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउन बन्यो र यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पङ्तीलाई समेत ढाँटेर षड्यन्त्रको तरिकाले बन्यो, सरकार दलालहरूका घर घरमा गएर रातको १२ बजे बन्यो’, उहाँले भन्नुभयो ।
सरकार भ्रष्टाचारीको रक्षाका लागि सुशासनका विपक्षमा बिचौलियाहरूको पक्षमा लागेको उहाँले आरोप लगाउनुभयो । ‘तपाईँहरू जसरी भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरूको पक्षमा जाँदै हुनुहुन्छ तपाईँहरू आफैँ कुहिएर झर्नु हुनेछ, हामीलाई दोष दिन पाउनु हुने छैन, हामीले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको पनि होइन’, दाहालले भन्नुभयो ।