७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साफ महिला च्याम्पियनसिप : नेपाल-बंगलादेश फाइनल खेलको टिकट बिक्रीमा एन्फाको रोक

प्रकाशित मिति :  १३ कार्तिक २०८१, मंगलवार ०७:०३


काठमाडाैं । काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप-२०२४ फुटबल अन्तर्गत फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार सूचनामार्फत जानकारी दिएकाे छ ।

आइबार भएको दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीचको खेलमा संघसँगकाे सम्झाैता विपरीत रंगशालाकाे क्षमता भन्दा बढी टिकट बिक्री गरेकाे कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ अधिकारप्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको  एन्फाले जनाएकाे छ । ‘टिकेटिङ अधिकारप्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ, त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न-नगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वान समेत गर्दछौं’- सूचनामा उल्लेख छ ।

यसबाट आम दर्शकमा पर्न गएकाे असुविधाप्रति एन्फाले क्षमा मागेकाे छ । फाइनल खेलकाे टिकट बिक्री वितरण व्यवस्थित गरी अर्काे सूचनामार्फत जानकारी गराइने एन्फाले जनाएकाे छ । सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जवाफदेही नहुने समेत एन्फाले जनाएको छ ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल कात्तिक १४ गते बुधबार साँझ साढे ६ बजे हुँदैछ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !