काश्मीरमा भारतीय सेनाबाट शङ्कास्पद विद्रोही मारिए
प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार ११:१८
श्रीनगर । भारतीय सेनाले सोमबार काश्मीरमा एक शङ्कास्पद विद्रोहीलाई मारेको छ । यो घटना बन्दुकधारीहरूले सैन्य सवारीहरूमाथि गोली बर्साएको केही घन्टापछि भएको हो । विवादित हिमाली क्षेत्रमा भएको यो पछिल्लो आक्रमण हो ।
मुस्लिम बहुल काश्मीर सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तान बीच विभाजित छ र यहाँ लामो समयदेखि विद्रोह चलिरहेको छ ।
सोमबार बिहान पाकिस्तानसँगको अनौपचारिक सीमा नजिकै दक्षिणी अखनूर क्षेत्रको पहाडी भागमा बन्दुकधारीहरूले एम्बुलेन्ससहितको सैन्य सवारीहरूमाथि गोली चलाउँदा कोही पनि घाइते भएनन् ।
सैनिकहरूले आक्रमणकारीहरूको खोजी सुरु गरे र पछि एक जना मारिएको जानकारी दिएका छन् । “एक आतङ्ककारीको शव हतियारसहित बरामद गरिएको छ”, सेनाको व्हाइट नाइट कोर्को विज्ञप्तिमा उल्लेख छ ।
काश्मीरमा कम्तीमा पाँच लाख भारतीय सैनिक तैनाथ छन् र उनीहरूले सन् १९८९ देखि चलिरहेको विद्रोहसँग लडिरहेका छन् । यस विद्रोहमा हजारौँ नागरिक, सैनिक र विद्रोहीको मृत्यु भइसकेको छ ।
यसै महिनाको सुरुमा बन्दुकधारीहरूले लद्दाखतर्फ जाने रणनीतिक सुरुङ मार्ग निर्माणस्थल नजिकै सात जनाको हत्या गरेका थिए । लद्दाख चीनसँग सीमा जोडिएको उच्च भू–भाग हो ।
शुक्रबार भारतीय अधिकारीहरूले सैन्य सवारीहरूमाथिको आक्रमणमा तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको जानकारी दिएका थिए ।
नयाँदिल्लीले नियमित रूपमा पाकिस्तानमाथि आतङ्कवादीहरूलाई हतियार उपलब्ध गराउने र आक्रमण गर्न सहयोग गरेको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गर्दै आएको छ ।
सेनाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सन् २०१९ मा काश्मीर क्षेत्रको सीमित स्वायत्तता खारेज गरेपछि सात सय २० भन्दा बढी विद्रोही मारिएका छन् ।
अक्टोबरको सुरुमा काश्मीरमा सन् २०१४ पछि पहिलो पटक करिब एक करोड २० लाख जनसङ्ख्या भएको यस क्षेत्रमा विधानसभाको निर्वाचन सम्पन्न भएको छ ।
–रासस
113
Shares