जापानको फुकुशिमा नजिकैको परमाणु रिएक्टर पुनः सञ्चालन हुने
टोक्यो । सुनामी–प्रतिरोधी पर्खाल अपग्रेड गरिएको एक जापानी परमाणु रिएक्टर मङ्गलबार क्षतिग्रस्त फुकुशिमा संयन्त्र नजिकैको क्षेत्रमा पुनः सञ्चालन हुने भएको यसका सञ्चालकले बताएका छन् ।
जापानले सन् २०११ को फुकुशिमा विपत्तिपछि आफ्ना सबै ५४ रिएक्टर बन्द गरेको थियो तर त्यसयता ३३ मध्ये १२ वटा सञ्चालनयोग्य एकाइ पुनः सञ्चालनमा ल्याएको छ । यद्यपि पूर्वी र उत्तरी क्षेत्रमा कुनै पनि छैनन् ।
तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार फुकुशिमा प्रिफेक्चरसँग जोडिएको उत्तरपूर्वी मियागी क्षेत्रको ओनागावा संयन्त्रको एकाइ नम्बर दुई मङ्गलबार १३औँ एकाइ बन्ने भएको छ ।
उत्सर्जन कटौती गर्न, जीवाश्म इन्धनको महँगो आयात घटाउन र कृत्रिम बौद्धिकता (एआई) का लागि डाटा सेन्टरहरूको ऊर्जा माग पूरा गर्न जापान परमाणु ऊर्जातर्फ फर्किँदै छ ।
“परमाणु ऊर्जा नवीकरणीय ऊर्जासँगै महत्त्वपूर्ण कार्बनमुक्त ऊर्जा स्रोत हो र हाम्रो नीति सुरक्षा सुनिश्चित गर्ने सर्तमा यसको अधिकतम प्रयोग गर्ने हो”, सरकारका वरिष्ठ प्रवक्ता योशिमासा हायाशीले मङ्गलबार पत्रकारहरूलाई भन्नुभयो ।
सन् २०११ को भूकम्प र सुनामीले करिब १८ हजारको ज्यान लिएको थियो भने बिजुलीका लाइनहरू काटिदिएको थियो र फुकुशिमा दाइचीमा ब्याकअप जेनेरेटरहरू डुबाउँदा तीन वटा रिएक्टर पग्लिएका थिए ।
त्यसयता सुरक्षा र नियामक मापदण्डहरू कडा बनाइएको छ र सन् २०२० मा पुनः सञ्चालनका लागि स्वीकृति पाएको ओनागावा संयन्त्रले आफ्नो सुनामी–प्रतिरोधी पर्खालको उचाइ समुद्र सतहबाट २९ मिटरसम्म बढाएको छ । यो उचाइ जापानमा सबैभन्दा अग्लो मध्ये एक हो ।
पुनः सञ्चालनले पग्लिएपछि पहिलो पटक बोइलिङ वाटर रिएक्टर (बिडब्लुआर) – फुकुशिमामा प्रयोग गरिएको समान मोडल – पुनः सञ्चालनमा आउने अवस्था पनि निर्माण गरेको छ ।
“कार्बनमुक्त ऊर्जा स्रोतहरूद्वारा सञ्चालित हाम्रो राष्ट्रको आर्थिक वृद्धिको दृष्टिकोणबाट परमाणु रिएक्टरहरू पुनः सञ्चालन गर्ने महत्त्व बढ्दै छ”, हायाशीले भन्नुभयो ।
हालको योजनाअनुसार जापानले सन् २०३० सम्म आफ्नो विद्युत्को २० देखि २२ प्रतिशत परमाणु ऊर्जाबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । यो अहिले १० प्रतिशतभन्दा निकै कम छ ।
जापानले नवीकरणीय ऊर्जाको हिस्सा करिब २० प्रतिशतबाट बढाएर ३६ देखि ३८ प्रतिशत पु¥याउन र जीवाश्म इन्धनको हिस्सा अहिलेको करिब दुई–तिहाइबाट घटाएर ४१ प्रतिशत पु¥याउन चाहन्छ ।
–रासस