१५ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज लक्ष्मी पूजा : घर–घरमा लक्ष्मीको पूजा गरिँदै

प्रकाशित मिति :  १५ कार्तिक २०८१, बिहीबार ०८:४१


काठमाडौं । तिहारको तेस्रो दिन आज घर घरमा लक्ष्मी पूजा गरिँदै छ ।

यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । आज बिहान कुकुर पूजा र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई नपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा रहने कुकुरले यमलोक जाँदा बाटो छोडिदिने विश्वास गरिन्छ ।

आजै घर सफा सुग्घर गरेर गाईको गोबर एवं रातो माटोले लिपपोत गरी दीपावली गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ । घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी साँझ दीपावली गरिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो बनाउने प्रचलन छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो एक हो ।

आज साँझ युवतीले समूह बनाई घरघरमा भैली खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलीराजालाई दिनुभएको धर्मग्रन्थमा उल्लेख छ ।

आज भैली खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी उपहार दिइन्छ । यस्तो दान दिएमा पुण्य प्राप्त हुने विश्वास छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !