छठ पर्वको दोस्रो दिन : आज खरना
![](https://risingsunkhabar.com/wp-content/uploads/2024/11/chaath.jpg)
काठमाडौं । छठ पर्वको दोस्रो दिन आज खरना भक्तिपूर्वक मनाइँदै छ ।
पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालुले आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारी गरिरहेका छन् ।
सूर्यको उपासना गर्ने यो पर्वमा आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने प्रचलन छ । यो विधिलाई ‘खरना’ भनिन्छ ।
श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्रमाको दर्शन गरेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन् ।
भोलि अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनाएको घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ ।
त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई चढाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्याउन जाने परम्परा छ । पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाट तयार गरिन्छ ।