३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

समस्याग्रस्त सहकारीको स्थलगत अनुगमनका लागि विज्ञ टोली खटाइने

प्रकाशित मिति :  २१ कार्तिक २०८१, बुधबार २०:०८


काठमाडौं । समस्याग्रस्त सहकारीको स्थलगत अनुगमनका लागि सातवटै प्रदेशमा विज्ञ टोली खटाइने भएको छ ।

मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बुधबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।

सो कार्यका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । टोलीले समस्या उन्मुख सहकारी संस्थाहरूको स्थलगत अनुगमन गरी त्यस्ता संस्थाहरूको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिमसमेत आकलन गरी प्रतिवेदन पेस गर्नुपर्नेछ ।

त्यसका लागि आवश्यक वित्तीय क्षेत्रमा काम गरेका जनशक्ति अर्थ मन्त्रालयले उपलब्ध गराउने छ । अन्य जनशक्ति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराउने भएको छ ।

टोलीमा सम्बन्धित प्रदेशको सहकारी हेर्ने रजिष्ट्रार वा अधिकृत कर्मचारी र सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतसमेत रहने व्यवस्था गरिएको छ ।

बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले औँल्याएका कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । कार्यदलमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव संयोजक र वित्तीय क्षेत्र हेर्ने अर्थ मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैङ्कका वित्तीय सुपरिवेक्षण तथा नियमन क्षेत्र हेर्ने निर्देशक र सहकारी विभागका रजिस्ट्रार रहने व्यवस्था छ । प्रधानमन्त्री कार्यालयका सहसचिव नमराज घिमिरेलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

कार्यदलले ३० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुनी सुधारको मस्यौदासहितको प्रतिवेदन पेस गर्ने छ ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ र फणीन्द्र गौतम, गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, अर्थ सचिव रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग वाणिज्य मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रलगायत सहभागी हुनुहुन्थ्यो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !