२३ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

छठ पर्वको मुख्य दिन आज सार्वजनिक बिदा

प्रकाशित मिति :  २२ कार्तिक २०८१, बिहीबार ०८:४६


काठमाडौं । सूर्यको आराधना गर्ने छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने गर्दछन् ।

महाभारत कालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेको स्मरणमा यो पर्व मनाइन्छ ।

त्यस्तै श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्वले सूर्यको आराधना गरेर रोग मुक्त भएको धार्मिक मान्यता पनि छ । त्यसैले छठको व्रत बसेर कुण्डहरुमा नुहाउँदा कुष्ठरोग लगायत चर्मरोग नाश हुन विश्वास गरिन्छ ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर यो व्रत सुरु हुन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक खाने गर्दछन् ।

कार्तिक शुक्ल षष्ठीका दिन दिनभरि निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने  गरिन्छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुने गर्दछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !