३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारलाई सफल बनाउन बनेको कांग्रेस–एमालेको संयन्त्र : कार्यदलको संयोजन पालैपालो

प्रकाशित मिति :  २२ कार्तिक २०८१, बिहीबार ०८:५२


काठमाडौं । सरकारलाई सफल बनाउन बनेको नेपाली कांग्रेर र नेकपा एमालेको कार्यदलको संयोजन दुई पार्टीका नेताहरूले पालैपालो गर्नुहुने भएको छ ।

कात्तिक २० गते बसेको संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने निर्णय गरेको छ । पहिलो महिना कात्तिक २१ देखि मङ्सिर २० गतेसम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्नुहुने भएको छ ।

कार्यदलको बैठकले चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गर्ने निर्णय पनि गरेको छ । दुई नेताको निर्देशन अनुरूप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल र प्रभावकारी बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको २०८१ कात्तिक १५ गते बसेको संयुक्त बैठकले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र निर्माण गरेको थियो ।

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा रहनु भएको छ ।

त्यस्तै नेकपा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहनु भएको छ । बैठकले प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय गरेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !