३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेल कोप–२९ मा भाग लिन आज अजरबैजान जाँदै

प्रकाशित मिति :  २५ कार्तिक २०८१, आईतवार ०९:०६


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकल जान लाग्नु भएको हो । पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ ।

विश्वमा नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्येमा पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !