यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले आज युएईसँग खेल्दै
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले आज घरेलु टाेलीसँग खेल्दैछ ।
नेपाल र युएईबीचकाे खेल दुबईस्थित द सेभेन स्टेडियममा हुने दिउँसो सभा बजेदेखि सुरु हुनेछ । नेपाल आज खेल जित्नैपर्ने दबाबमा छ ।
प्रतियोगितामा युएई अहिलेसम्म खेलमा ५ खेलमा सबै खेल जितेर १० अंकसहित अंक तालिकाकाे शीर्ष स्थानमा छ । समान खेलमा ४ मा जित र १ मा हार बेहोरेकाे नेपाल ८ अंकसहित अंक तालिकाकाे दोस्रो स्थानमा छ । आज खेल जितेर शीर्ष स्थानमा उक्लिए नेपाल यु-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएकाे थियाे भने तेस्राे खेलमा घरेलु टाेली युएईसँग १३ रनले पराजित भएकाे थियाे । चाैथाे खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको थियो भने पाँचाैं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएकाे थियाे ।
प्रतियोगितामा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याड सहभागी छन् । प्रतियाेगितामा सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटका लागि छनोट हुनेछ । यु-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ ।