६ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकी नेतृत्व परिवर्तनसँगै विश्वका प्रमुख दुई प्रमुख अर्थतन्त्रका राष्ट्रपतिबीच हुने भेटवार्ता र यसको महत्त्व

प्रकाशित मिति :  ३० कार्तिक २०८१, शुक्रबार १६:११


–दिलीप शर्मा
काठमाडौँ ।  एशिया–प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलन शुक्रबारदेखि लिमामा शुरू भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको चुनावी विजयका कारण उत्पन्न कूटनीतिक अनिश्चितताबीच लिमामा शनिबार प्रत्यक्ष भेतवार्ता गर्नुहुनेछ ।

एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहको दुई दिने राष्ट्रप्रमुखस्तरीय बैठकका लागि सी र बाइडेन विश्वका अन्य नेताका साथ बिहीबार लिमा आइपुगेका हुन् ।

संयुक्त रूपमा विश्वको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत र विश्वव्यापी वाणिज्यको ४० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने र क्षेत्रीय व्यापार उदारीकरणको लक्ष्यका साथ सन् १९८९ मा स्थापना भएको एपेकले २१ वटा अर्थतन्त्रलाई गोलवन्द गरेको छ ।

समर्थकहरूले समावेशी विकास को संज्ञा दिएका शिखर सम्मेलनको कार्यक्रम व्यापार र लगानीमा केन्द्रित हुनेछ ।

पेरुले लिमामा शान्ति कायम गर्न सशस्त्र बलका १३ हजारभन्दा बढी सदस्यहरू तैनाथ गरेको छ किनकि यही समय पारी यातायात मजदुर र व्यवसायीहरूले अपराध र कथित सरकारी उपेक्षाको विरोधमा तीन दिनको विरोध प्रदर्शन सुरु गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन र उहाँका चिनियाँ समकक्षी सीबीचको शनिबार हुन लागेको वार्ता जनवरीमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुअघि विश्वका सबैभन्दा ठूला अर्थतन्त्रका शीर्ष नेताहरूबीच हुने सम्भवतः अन्तिम भेट हुने अमेरिकी अधिकारीले बताएका छन् ।

रिपब्लिकन पार्टीका नवनिर्वाचित राष्ट्रपतिले आफ्नो दोस्रो कार्यकालका लागि बेइजिङसँग टकरावको दृष्टिकोण अपनाउने सङ्केत गरेकाले द्विपक्षीय बैठकलाई विशेष महत्तवका साथ नियालिएको छ ।

अजरबैजानमा जारी कोप–२९ जलवायु वार्ता र अर्को साता रियो दि जेनेरियोमा हुने जी–२० शिखर सम्मेलनका लागि जस्तै ट्रम्पको आगामी कदमबारे देखिएको अनिश्चितताले एजेन्डालाई ओझेलमा पारेको छ ।

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत एपेकका मन्त्रीहरूले लिमामा बन्द कोठामा बैठक गरेका थिए ।

ट्रम्पले यसै साता ब्लिन्केनको स्थानमा सिनेटर मार्को रुबियोलाई नियुक्त गर्ने घोषणा गरिसक्नुभएको छ । उहाँ चीनप्रति कडा धारणा राख्ने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पका विश्वासपात्र हुनुहुन्छ ।

सम्मेलनमा जापान, दक्षिण कोरिया, क्यानडा, अष्ट्रेलिया, इन्डोनेसियालगायतको सहभागिता रहने छ ।

एपेक सदस्य राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने सम्मेलनमा उपस्थित हुनुहुने छैन ।

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको ‘अमेरिका पहिले’ भन्ने एजेन्डा संरक्षणवादी व्यापार नीतिहरू, घरेलु जीवाश्म ईन्धन निकासीमा वृद्धि, र विदेशी सङ्घर्षबाट बच्नमा आधारित छ ।

यसले युक्रेन र मध्यपूर्वमा भएको युद्धदेखि जलवायु परिवर्तन र व्यापारसम्मका विषयमा बाइडेनले बनाएको गठबन्धनलाई खतरामा पारेको छ ।

नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति ट्रम्पले द्विपक्षीय व्यापारमा असन्तुलनलाई कम गर्न चिनियाँ सामानको आयातमा ६० प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ ।

चीन लामो समयदेखिको घरजग्गा कारोबार सङ्कट र सुस्त उपभोगसँग जुधिरहेको छ । यसलाई वासिङ्टनसँगको नयाँ व्यापार युद्धले मात्र खराब बनाउन सक्छ।

अर्थशास्त्रीहरूले दण्डात्मक करले अमेरिकी अर्थतन्त्रलाई पनि हानि पु¥याउने बताएका छन् ।

चीन पश्चिमा मुलुक रुस र उत्तर कोरियाको सहयोगी हो र ताइवानमाथि दबाब बढाउँदै आफ्नो सैन्य क्षमता बढाइरहेको छ।

यसले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत पूर्वाधार र अन्य परियोजनाहरूमार्फत ल्याटिन अमेरिकामा आफ्नो पहुँच विस्तार गरिरहेको छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार लिमाको उत्तरमा पर्ने चान्केमा दक्षिण अमेरिकाको पहिलो चिनियाँ लगानीमा सञ्चालित बन्दरगाहको उद्घाटन गर्नुभएको छ भने यसै सन्दर्भमा अमेरिकी अधिकारीले ल्याटिन अमेरिकी देशहरूलाई चिनियाँ लगानीको मामिलामा सतर्क रहन चेतावनी दिएका छन् ।

यसैबीच बाइडेनले शुक्रबार जापानका प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

बाइडेनसँगको भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले साझेदार राष्ट्रहरूले आफ्नो गठबन्धन ‘अमेरिकी नीतिको स्थायी विशेषता’ हुने सुनिश्चित गर्न सचिवालय गठनको घोषणा गर्ने बताउनुभएको छ ।

ट्रम्पको आर्थिक वृद्धि गर्ने नीतिको तारो बन्ने चीन एक्लो देश भने होइन ।

आगामी अमेरिकी राष्ट्रपति ट्रम्पले यदि मेक्सिकोले सीमा पार गर्ने ‘अपराधी र लागूपदार्थको आक्रमण’ रोकेन भने त्यहाँबाट आउने सामानमा २५ प्रतिशत वा सोभन्दा बढी कर लगाउने पनि चेतावनी दिनुभएको छ ।
-रासस


678
Shares

प्रतिक्रिया दिनुहोस !