३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृषकलाई आलुको बीउ अनुदानमा वितरण

प्रकाशित मिति :  ३० कार्तिक २०८१, शुक्रबार १६:४२


गण्डकी ।  पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई २९ हजार ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

विभिन्न कृषक समूहको मागका आधारमा आलुको बीउ वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो । पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमुल, बेलबुटेलगायत स्थानमा पर्याप्तमात्रामा आलुखेती गरिन्छ ।

पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिनुुभयो । अघिल्लो वर्ष पोखरामा २५ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो । उहाँका अनुसार पोखरामा आलुखेती चार सय रोपनी क्षेत्रमा विस्तार गर्नेगरी २९ हजार ५० किलोग्राम बीउ ५० प्रतिशत अनुदानमा दुई सय ५० कृषि फर्म, समूह तथा सहकारीलाई वितरण गरिएको हो ।

आलुको बीउको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारणगरी ५० प्रतिशत अनुदानका लागि महानगरपालिकाले १० लाख १६ हजार सात सय ५० रुपैयाँ लगानी गरेको छ । आलुको बीउ उत्पादनका लागि अघिल्लो वर्ष पोखराका कृषकलाई अनुदान सहयोग गरिएकामा तिनै कृषकबाट यस वर्ष अनुदानमा वितरण गर्ने बीउ खरिद गरिएको उहाँले जानकारी दिनुुभयो ।
–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !