१ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यामुको हत्यामा राजनीति गर्ने चाल असफल

प्रकाशित मिति :  १ मंसिर २०८१, शनिबार २०:३०


बिर्तामोड । कुनै पनि अपराधिक घटना सम्बन्धमा किटानी जाहेरी दिने व्यवस्थाको कसरी दुरुपयोग भइरहेको छ भन्ने एउटा दुर्दान्त उदाहरण झापाको दमकमा देखिएको छ ।

दमकमा कात्तिक ६ गते यामु निरौलाको हत्या भयो । दमक र मोरङको मधुमल्ला सीमाको मावा खोला किनारमा विवाद हुँदा यामुको हत्या भएको थियो । दमक भनेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । ओलीको गृहनगरमा कुनै घटना हुनासाथ त्यसमा ओली र एमालेलाई मुछेर राजनीतिक खेति गर्ने दाउमा केही राजनीतिक पात्रहरु लागिपरेका थिए ।

दमकबाट एमालेको जरा उखेल्ने मौका खोजेर बसिरहेका केही नेताहरुले त्यसपछि हत्याकाण्डमा ओली र एमाले विरुद्ध चाल चल्दा कैयन निर्दाेषहरुले अनावश्यक प्रताडना भोग्नुपर्यो ।

षडयन्त्रकारी चाल, निर्दाेषको काल

कुनै बहानामा एमाले र सम्वद्ध नेताहरुलाई सिध्याउने र आफू उदाउने दाउमा रहेका दमकका त्यस्ता नेताहरुको समूहले हत्याकाण्डमा केपी ओलीको भित्री भूमिका रहेको तथा हत्यामा एमालेका नेता तथा शुभचिन्तकहरुको संलग्नता रहेको प्रचार थाल्यो । प्रचार मात्र थालेन, हत्याकाण्ड स्थलमा हुँदै नभएका मानिसहरुको पनि नाम मुछेर फलाना फलानाले हत्या गरेका हुन् भनेर दमकमा केही दिन भाँडभैलो नै मच्चाइयो ।

उनीहरुले केही मानिसलाई उत्तेजित बनाएर प्रहरी कार्यालय अगाडि गर्न लगायो र हत्यामा संलग्न भएका व्यक्तिहरु यीयी हुन् भनी किटान गरे ।

दमकमा कहिले पनि उदाउन नसकेका नेताहरुको समूहले भिमराज चम्लागाईं नोम चेम्जोङ, प्रकाश कार्की, बुद्धिमान थापा, ध्रुव गौतम र प्रमोद घलेको नाम पनि किटान गरेको थियो । सो समूहले दुर्गा प्रसाईंलाई पनि निम्ता गरेर हत्याकाण्डलाई राजनीतिक रंग दिने प्रयत्न गरेको थियो । एकातिर यामु निरौलाको शोकाकूल परिवारको भावनामा खेल्दै उनीहरुलाई आफूले भने अनुसारको जाहेरी दिन लगाइयो भने अर्कातिर नाराजुलुस गरेर प्रहरीलाई जाहेरी दर्ता गर्न दवाब दियो ।

भीडले भने अनुसारको जाहेरी लिने काम प्रहरीले गर्यो ।

यता प्रहरीले जाहेरी लियो, उता हत्याकाण्ड सम्बन्धमा तथ्यप्रमाणहरु सार्वजनिक हुन थाल्यो । जस्तो कि हत्याकाण्डमा संलग्न भनी दुर्गाको समूहले आरोप लगाएका बुद्धिमान थापा हत्याको समयमा घरमै भएको पुष्टि हुने प्रमाणहरु प्रस्तुत भए । त्यति मात्र होइन, हत्याको समयमा बुद्धिमानको घरमा आमाको श्राद्धको एकछाकी थियो । बुद्धिमानका पिता सिकिस्त अवस्थामा हुनुहुन्थ्यो । बुद्धिमान थापा आफ्नो पिताको सिकिस्त अबस्थाका कारण उनलाई घटनाको बारेमा केही थाहा थिएन । उनी आफ्ना बुबाको स्यहार सुसारमै तल्लिन भएर बसेका थिए । लगत्तै पिताको पनि निधन भयो ।

जाहेरी अनुसार बुद्धिमानलाई पक्रनुपर्छ भन्दै दुर्गाको समूहले नारावाजी गर्दा समेत उनलाई केही थाहा थिएन । तर, त्यस बीचमा हत्याकाण्ड सम्बन्धमा यति दह्रो तथ्य प्राप्त भयो कि प्रहरीले लिएको जाहेरी नै विवादमा पर्न गयो ।

हत्याकाण्डमा भएको घटनाको सीसी क्यामरा फुटेज प्राप्त भयो । हत्या कसरी भएको थियो र संलग्न कोको थिए भन्ने स्पष्ट प्रमाण फुटेजले देखायो ।

त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय झापाले खेमराज भण्डारी, गणेश दर्जी र शेरबहादुर तामाङ विरुद्ध मात्र मुद्धा चल्ने, जाहेरीमा उल्लेख भएका अन्य व्यक्तिहरु विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । निर्णयको पत्र इलाका प्रहरी कार्यालय दमकलाई पठाइएको छ ।

के भएको थियो ?

हत्याकाण्ड भएको स्थल विगतमा क्रशर उद्योग राख्न खोजिएको थियो । स्थानीयहरुका अनुसार १२–१५ वर्ष अघि त्यहाँ क्रशर उद्योग राख्न केही मेसिन, बालुवा गिटीहरु राखिएको थियो तर उद्योग नै चलेन । सो जग्गा भिमराज चम्लागाईको थियो । यी उनै भिमराज चम्लागाईं हुन् जसका विरुद्ध हत्या गरेको भनी किटानी जाहेरी दिन लगाइएको थियो ।

सो जग्गामा रहेको केही फलाम र वालुवा हटाउने विषयमा विवाद हुँदा सामान्य हात हालाहालमै यामु निरौला लडेको र त्यहिँ नै निधन भएको सीसी क्यामरा फुटेजबाट देखिन्छ ।

यिनै तथ्यका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले किटानी जाहेरीमा नाम परेका केहीलाई मुद्दा चलाउने र केहीलाई नचलाउने निर्णय गरेको बुझिन्छ ।

आग्रह, पूर्वाग्रह र दुराग्रहका आधारमा किटानी जाहेरीमा नाम पारेर व्यक्तिलाई दुःख दिने यस्तो घटना देशभरी हुने गरेको छ । यस्ता घटनामा राजनीतिको रोटी सेक्ने चलन पनि नयाँ होइन ।

जाहेरीमा अनावश्यक रुपमा नाम किटानी गरिएका एक पीडीतकी पत्नीले भनिन्– ‘मेरा निर्दाेष श्रीमानलाई अनावश्यक रुपमा हत्याकाण्डमा मुछेर हाम्रो पूरै परिवारलाई दिइएको यातना र सार्वजनिक बेइज्जतीको क्षतिपूर्ति कसले दिन्छ ? शोकले भाव विव्हल भएको मौका छोपेर यामु निरौलाको परिवारलाई प्रयोग गर्न खोज्नेहरुप्रति कारवाही हुनुपर्छ कि पर्दैन ?’

 


113
Shares

प्रतिक्रिया दिनुहोस !