३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही

प्रकाशित मिति :  २ मंसिर २०८१, आईतवार ०८:४९


काठमाडाैं । यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएकाे छ ।

आजदेखि उपचुनाव सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । आयाेगले आचारसंहिताकाे पालना गर्न सम्बन्धित सराेकारवाला सबैमा आग्रह गरेकाे छ ।

केन्द्र सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र साेका सदस्य, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई निर्वाचन आचार संहिता लागू हुने आयाेगले जनाएकाे छ ।

दल तथा दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालय-महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ ।

मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ ।

आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु-गराउनु परे निर्वाचन आयोगलाई पूर्व जानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवम् नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रुपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुने आयाेगकाे विश्वास छ ।

आचारसंहिताविपरीतका कार्य भए-गरेको पाइए वा हुनसक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन आयोगले आग्रह गरेको छ । आचारसंहिता उल्लंघन भएको पाइए कारबाही हुने चेतावनी पनि आयाेगले दिएकाे छ ।

स्थानीय तह उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !