२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेसले पूर्व सभामुख ढुंगानाको निधनको शोकमा दुई दिन झण्डा झुकाउने, भोलि कार्यालय बन्द गर्ने

प्रकाशित मिति :  ३ मंसिर २०८१, सोमबार १२:३९


काठमाडाैं । नेपाली कांग्रेसले स्व: दमननाथ ढुंगानाको सम्मानमा आज र भोलि पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकले पूर्व सभामुख ढुंगानाको निधनकाे शाेकमा मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेकाे उहाँले बताउनुभयाे । बैठकले ढुंगानाकाे निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शाेक प्रस्ताव पारित गरेकाे छ । बैठकले उहाँप्रति सम्मान प्रकट गरेकाे मुख्यसचिव पाैडेलले जानकारी दिनुभयाे ।

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो ।

उहाँ वि.सं. २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रुपमा समेत उहाँको सक्रिय भूमिका थियो । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उहाँले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहने कांग्रेसले पारित गरेकाे शाेक प्रस्तावमा उल्लेख छ । उहाँको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको कांग्रेसले जनाएकाे छ ।

ढुंगानाको हिजो मंसिर २ गते आइतबार ८३ वर्षकाे निधन भएको थियाे । उहाँकाे आज अन्येष्टि गरिँदैछ । नेपाल सरकारले राजकीय सम्मानसाथ पूर्व सभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । उहाँकाे निधनकाे शाेकमा सरकारले आज सार्वजनिक बिदा पनि दिएकाे छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !