२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व सभामुख ढुंगानाको राजकीय सम्मानसाथ अन्त्येष्टि

प्रकाशित मिति :  ३ मंसिर २०८१, सोमबार १६:३४


काठमाडाैं । पूर्व सभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

साेमबार अपरान्ह पशुपतिनाथ स्थित आर्यघाटमा ढुंगानाको अन्त्येष्टि गरिएकाे हाे । साे अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो ।

ढुंगानाको पार्थिव शरीरमा छोराहरु निमेष र विशेषले दागबत्ती दिनुभयाे । पूर्व सभामुख ढुंगानाको सम्मानमा १७ तोपको सलामी पनि दिइएको थियो ।

पूर्व सभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद् तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।

त्यसअघि साेमबार बिहानदेखि दिउँसाेसम्म उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरनमा राखिएको थियो । ढुंगानालाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति देउवा लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता, विभिन्न क्षेत्रका व्यक्ति, सर्वसाधारण लगायतले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा मंसिर २ गते आइतबार दिउँसो निधन भएको थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !