७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

प्रकाशित मिति :  ५ मंसिर २०८१, बुधबार ०९:४३


काठमाडाैं । विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बुधबार म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ ।

मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागिएकाे हाे । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) का अनुसार केही कागजात र प्रक्रियाका कारण मंगलबार म्याद थपका लागि अदालत लैजान समय अभाव भएको थियाे ।

कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै प्रसाईंले मंसिर ३ गते नक्कली र किर्ते गरिएका कागज  सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षर नक्कली छ ।

फेक डकुमेन्टको सहारामा ओलीविरुद्ध दुष्प्रचार गरेकाे अभियाेगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए । पक्राउ परे लगत्तै मेडिकल गराएर सीआईबीले नेपाल प्रहरीकाे साइबर ब्युराेकाे जिम्मा लगाएकाे थियाे ।

सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीका अनुसार प्रसाईंमाथि तत्काल विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धान हुनेछ । लिखत सम्बन्धी कसुर-कीर्ते लगायतमा पनि अनुसन्धान हुन सक्ने उहाँले बताउनुभयाे ।

यसअघि प्रसाईं विद्युतीय अपराधसम्बन्धी मुद्दामा पक्राउ परेर धराैटीमा छुटेका थिए । गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको थियो । ​ दुईवटा मुद्दामा जनही ५०-५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । सोही आदेश अनुसार उनी धरौटी बुझाएर साेही दिन साँझ रिहा भएका थिए । नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !