२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हामी विश्वशान्तिका पक्षमा छौँ, तर अन्याय सहेर बस्दैनौँ : प्रधानमन्त्री

प्रकाशित मिति :  ५ मंसिर २०८१, बुधबार १६:२०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्वशान्ति, मानव अधिकार र न्यायका पक्षमा रहेको बताउनुभएको छ ।

प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध उभिन विभिन्न राजनीतिक दल र नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण बुझ्दै प्रधानमन्त्री ओलीले तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको स्पष्ट पार्नुभयो । ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाले विश्व शान्तिको पक्षमा रहेको बताउँदै ओलीले यसको अर्थ अन्याय पनि नसहने बताउनुभयो । ‘हामी विश्व शान्तिका पक्षमा छौँ, कुनै शक्तिविरुद्ध आफै लड्न जाँदैनौँ, कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ’, ओलीले भन्नुभयो ।

नेपाल सधैँभरि न्यायपूर्ण शान्ति र मानवअधिकारको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानवअधिकारको पक्षमा हुनेछौँ’, उहाँले भन्नुभयो ।

 

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने सुझाव दिनुभयो । ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरुपमा संयुक्त राष्ट्रसंघजस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरूको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ ।

भेटका माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रूपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।


339
Shares

प्रतिक्रिया दिनुहोस !