२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति पाैडेलले भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको सम्मान प्रदान गर्ने

प्रकाशित मिति :  ६ मंसिर २०८१, बिहीबार ०८:४७


काठमाडाैं । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुने भएकाे छ ।

राष्ट्रपति पौडेलले नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज बिहीबार नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने कार्यक्रम रहेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

प्रधानसेनापति अशोकराज सिग्देलकाे निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष द्विवेदी ५ दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आइपुग्नुभएकाे थियाे ।

नेपालमा रहँदा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुहुनेछ ।

भारतीय सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जंगी अड्डामा सम्मान गारतको निरीक्षण गर्नुहुनेछ । उहाँले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !