२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनको भ्रमण अत्यन्तै सफल रहने छ : प्रधानमन्त्री केपी ओली

प्रकाशित मिति :  ७ मंसिर २०८१, शुक्रबार १५:४०


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण उपलब्धिपूर्ण हुने बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले चीन भ्रमणको उपलब्धि देशवासीले थाहा पाउने खालको हुने बताउनुभयो । ‘चीनको भ्रमण अत्यन्तै सफल भ्रमण रहने छ, तपाईँहरूले यसै पनि थाहा पाउनु हुने छ, म तपाईँहरूलाई चीनबाट फर्किएपछि कसरी सफल भयो भन्ने कुरा सम्प्रेषण गर्ने छु, त्यतिकै चीन यसो घुमेर आउँ भनेर जान लागेको होइन’, ओलीले भन्नुभयो ।

देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिने बताउँदै ओलीले त्यसकै लागि चीन भ्रमण गर्न लागेको स्पष्ट पार्नुभयो । चीन भ्रमणलाई सफल र उदाहरणीय बनाउने ओलीले दाबी गर्नुभयो । ‘म ढुक्कले यो कुरा तपाईँहरूलाई भन्नु चाहन्छु’, उहाँले भन्नुभयो ।

एमाले माथि लगाइएका कुनै पनि आरोपहरू खण्डन र चर्चा गर्न लायकका नभएका ओलीले बताउनुभयो । त्यस्ता आरोप लगाउनेहरू आफैँ आरोप लगाउने र आफैँ सुनेर दङ्ग पर्ने मात्र उहाँले बताउनुभयो । ‘भ्रममा पर्दैन जनता, कसले कति कमाएको छ, कसले कति कमाएको छैन, यी कुरा सबै विश्वले देखेको छ, दुनियाँले देखेको छ’, ओलीले भन्नुभयो ।

कम्बोडियाको टेलिकममा कस-सकसको लगानी छ भन्ने कुरा थाहा पाउन कुनै गाह्रो नरहेको बताउँदै ओलीले यस्ता कुरामा समेत दुष्प्रचार गरिएको बताउनुभयो । ‘आफू गल्ती गर्ने, अरूको टाउकोमा खन्याउने’, उहाँले भन्नुभयो ।

यस्ता कुप्रचार गर्ने र भ्रम फैलाउनेलाई सामाजिक सुप्रबन्ध कायम गर्न नियन्त्रण गर्नुपर्नेमा र सरकारले त्यो काम गर्ने ओलीले बताउनुभयो । अब नाङ्लो ठटाएर हात्ती तर्साउने काम नगर्न ओलीले चेतावनी दिनुभयो । एमाले हात्तीको बथान जस्तो पार्टी भएकोले नाङलो ठटार नतर्सने ओलीले स्पष्ट पार्नुभयो ।


339
Shares

प्रतिक्रिया दिनुहोस !