घेराही–तुलसीपुर सडकका लागि बजेन सुनिश्चित, नेपाल सरकारकै बजेटमा चार लेन विस्तार हुने
काठमाडौं । लामो समयदेखि अलपत्र रहेको दाङको घोराही–तुलसीपुर सडक खण्ड निर्माणको लागि बजेट सुनिश्चित भएको छ ।
अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेसँगै सडक विस्तारको काम नेपाल सरकारकै लगानीमा हुने निश्चित भएको हो । यसअघि भारतीय एक्जिम बैङ्कको लगानीमा निर्माण हुन थालेको सो सडक ठेकेदार कम्पनीको लापरबाहीका कारण लामो समयसम्म अलपत्र परेको थियो ।
सरकारले यसअघि नै उक्त ठेक्का सम्झौता तोडिसकेको थियो । अर्थ मन्त्रालयले बुधबार राष्ट्रिय योजना आयोगलाई पत्र लेखी घोराही–तुलसीपुर सडक खण्ड चार लेन विस्तारका लागि बजेट सुनिश्चित भएको जानकारी गराएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत ३ अर्ब ९९ करोड ४९ लाख रुपैँको बहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय समक्ष पत्र पठाएको थियो ।अर्थ मन्त्रालयले सोही बजेटमा आधारित रहेर बहुवर्षीय योजना अन्तर्गत घोराही–तुलसीपुर सडक खण्ड विस्तारका लागि सहमति प्रदान गरेको छ । सो सडक खण्डमा २१.५८ किलोमिटर क्षेत्रमा काम हुनेछ ।
सडक निर्माणको लागि तत्काल ठेक्का प्रक्रिया सुरु भएर चार लेन विस्तारको काम हुनेछ ।
सो सडक अलपत्र पर्दा लामो समयसम्म दाङवासीले दुःख पाएका थिए । सडक निर्माण सुरु हुने भएपछि स्थानीय खुसी भएका छन् ।