रवि लामिछानेसँग आज काठमाडौंमा बयान लिइँदै
काठमाडौं । सहकारी ठगीमा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ ।
बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएको लामिछानेको आजबाट सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान हुँदै छ । लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
काठमाडाैंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा दोषी देखिएको भन्दै लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जिबी राईसँग मिलेर ऋण लिएको तथ्य फेला परेको छ । लामिछाने एक्लैले ४६ लाख सवारी ऋण र जिबीसँग संयुक्त थप ४६ लाख लिएको तथ्य भेटिएपछि अनुसन्धानको लागि पक्राउ पुर्जी जारी गरिएको हो ।
पछिल्लो पटक कास्की जिल्ला अदालतले लामिछानेमाथि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो ।
पोखरबाट नै बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको मुद्दामा लामिछानेलाई रुपन्देही लगी बयान लिइएको थियो । रुपन्देहीमा बयान सकिएपछि उहाँलाई पुन पोखरा ल्याइएको थियो ।
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई चितवन लैजाने तयारी छ । सहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि त्यहाँबाट पनि लामिछाने माथि पक्राउ पुर्जी जारी भएको छ ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।