२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थानीय तह उपचुनाव : माैन अवधि सुरु

प्रकाशित मिति :  १४ मंसिर २०८१, शुक्रबार १०:०२


काठमाडाैं । यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनावकाे मौन (निषेध) अवधि सुरु भएको छ ।

बिहीबार राति १२ बजेदेखि माैन अवधि सुरु भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । माैन अवधि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुनेछ ।

निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको भन्दै निर्वाचन आयाेगले उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।

माैन अवधिमा चुनावकाे प्रचार प्रसार गर्न र भाेट माग्न पाइँदैन । मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइँदैन ।

निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य निषेध गरिएको छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न तथा नगराउन समेत आयोगले आग्रह गरेको छ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्न पनि आयाेगले आग्रह गरेकाे छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम माैन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्न आयाेगले आग्रह गरेको छ ।

माैन अवधिमा निवार्चन आचार संहिता विपरीतका कार्य भए-गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कारबाही गरिने चेतावनी आयाेगले दिएकाे छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आग्रह गरेकाे छ ।

मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि उपचुनाव हुँदैछ । तीमध्ये ३ पदमा उम्मेदवार सर्वसम्मत निर्वाचित भइसकेका छन् । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसक्नुभएकाे छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएकाे छ ।

याेसँगै ४१ पदमा मात्र मतदान हुनेछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । उपचुनावमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।


226
Shares

प्रतिक्रिया दिनुहोस !