धनुषाकाे धनुषाधाम-१ र उदयपुरको त्रियुगा-१२ मा माओवादी उम्मेदवार विजयी
काठमाडाैं । धनुषाकाे धनुषाधाम नगरपालिका वडा नम्बर-१ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट विजयी हुनुभएकाे छ ।
आइतबार सम्पन्न स्थानीय तह उपचुनावकाे अन्तिम मतपरिणाम अनुसार केवट ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएकाे निर्वाचन कार्यालयले जनाएको छ ।
उहाँका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत पाउनुभयाे । जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९, नेकपा एमालेका प्रमोद यादवले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७, जनमत पार्टीका कुशेश्वर मण्डलले २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत ल्याउनुभयाे ।
यसैबीच उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-१२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई ९२३ ल्याई विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाउनुभयाे । नेपाली कांग्रेसका सञ्जीव काफ्लेले ३५९, नेकपा एकीकृत समाजवादीका निर्मला चौधरीले ३१२ र राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले २०२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।