प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान, राष्ट्रिय महत्वका विभिन्न विषयमा सम्झौता हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेको हो । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जानुभएको हो ।
प्रधानमन्त्री ओली पछिल्लो कार्यकाल प्रधानमन्त्री भएपछि यो उहाँको पहिलो औपचारिक चीन भ्रमण हो । प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीनले बनाउने दुई करोड डलर अर्थात् करिब दुई अर्ब ७० करोड नेपाली रुपैयाँ बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको छ । जसमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना रहेका छन् ।
भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्ने तयारी नेपालले गरेको छ । जसमा राष्ट्रिय सहमति बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा सरकारी क्षेत्रबाट ३९ जना र निजी क्षेत्रबाट ४८ जना गरी कूल ८७ सदस्यीय टोली समावेश छ । प्रधानमन्त्रीको चार दिने चीन भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।
नेपाल र चीनको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउनुका साथै आर्थिक, रणनीतिक र सांस्कृतिक सहकार्यका लागि विभिन्न सम्झौताहरू यो भ्रमणका क्रममा हुने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा मुख्यतः नेपाल र चीन सम्बन्ध सुदृढ पार्न, आर्थिक सहयोग विस्तार गर्न र रणनीतिक परियोजनामा सहकार्यका लागि सम्झौताहरू हुने छन् ।
भ्रमणका क्रममा सीमा व्यापार र ट्रान्जिटसँग सम्बन्धित केही सम्झौताहरू पनि हुने तयारी गरिएको छ । नेपाल–चीन बिचको व्यापार सहज बनाउनका लागि सीमा नाकाहरू सञ्चालनसम्बन्धी सम्झौताको तयारी भएको छ । चीन हुँदै नेपाललाई तेस्रो मुलुकहरूसँग जोड्ने ट्रान्जिट सम्झौताको थप विस्तारका विषयमा छलफल र आवश्यकताको आधारमा सम्झौताको तयारी भएको छ । संस्कृति र शिक्षा आदानप्रदान, सांस्कृतिक कार्यक्रमहरू, विश्वविद्यालयको सहकार्य तथा चिनियाँ भाषा र अध्ययन विस्तार लगायतका विषयमा पनि छलफल र सम्झौताको तयारी छ । त्यस्तै विज्ञान, प्रविधि, र स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि पनि नयाँ सम्झौताको तयारी रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ओलीले यस अघि सन् २०१६ र २०१८ मा पनि प्रधानमन्त्री हुँदा चीन भ्रमण गर्नुभएको थियो ।