२२ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवाले होइन औद्योगिक उत्पादनले भरिएको विमान नेपालबाट उड्नुपर्छ- गोविन्द थापा

प्रकाशित मिति :  १७ मंसिर २०८१, सोमबार १३:२०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली द्विपक्षीय विदेश भ्रमणमा चीन गएपछि एमालेका अत्यन्तै लोकप्रिय नेता  तथा राजनीतिक विश्लेषक गोविन्द थापाले समाजिक सञ्जाल फेसबुकमा अत्यन्तै गम्भिर भएर एउटा भिडियो पाेस्ट गर्नु भएको छ ।

उहाँले भिडियोमा प्रधानमन्त्रीको चीन भ्रमणको चुरो कुरा र अब नेपालबाट युवाले होइन औद्योगिक उत्पादनले भरिएको विमान नेपालबाट उड्नुपर्छ भन्दै भिडियोमा बताउनु भएको छ ।

उहाँले भिडियोमा बताउनुभएको कुरा जस्ताको तस्तै ।

अहिले म भरखरै त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट फर्कंदैछु । प्रधानमन्त्री केपीशर्मा ओलीलाई चीन भ्रमणका लागि विदाई र शुभकामनाका लागि गएको थिएँ ।

विमानस्थलमा प्रधानमन्त्रीलाई विदाई गर्दैगर्दा मेरो मनमा अनेक कुरा खेल्यो । फर्कंदा बाटोमा फर्कदो देशको भविष्य, दक्षिण एसियाको राजनीति र विश्व राजनीतिको बारेमा अनेकौं कुरा खेल्यो । त्यसैले यो भिडियोमा म प्रश्तुत भएको छु ।

प्रधानमन्त्रीको यसपटकको चीन भ्रमण असाध्यै अनौठो छ । नेपालको इतिहासमा कहिल्यै नभएको घटना यो भ्रमणको सेरोफेरोमा भएको छ । केके अनौठो भयो भन्ने म दुई चार कुरा बताउँछु ।

पहिलो अनौठो के हो भने नेपालको आधुनिक इतिहासमा कुनै पनि प्रधानमन्त्रीले पहिलो द्धिपक्षीय विदेश भ्रमण भारतको नगरेर चीनको गरेको यो पहिलो घटना हो ।

दोस्रो अनौठो के भने नेपालको इतिहासमा प्रधानमन्त्रीको द्धिपक्षीय भ्रमणको विषयमा राष्टिय राजनीतिका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेस एकढिका भएर एक ठाउँ उभिएको यो पहिलो घटना हो ।

तेस्रो अनौठो के भने नेपालका कुनै पनि प्रधानमन्त्रीको भारत या चीन भ्रमणका बेला देशभित्र राजनीतिक मुद्दाका बारे मात्र बहस हुन्थ्यो, भ्रमणमा जाने प्रधानमन्त्री के गुमाएर फर्कन्छ भन्ने चिन्ता हुन्थ्यो । विगतमा केपी ओली प्रधानमन्त्री भएको बेला उहाँले गरेको भ्रमणमा मात्र हो नेपालले के गुमाउँछ भन्ने चिन्ता भएन । नत्र भने नेपालका प्रधानमन्त्रीहरुले खासखास देशको द्धिपक्षीय भ्रमणमा गुमाएर मात्र फर्कन्थे ।

यसपटक प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालले के गुमाउँछ भन्ने कुनै चिन्ता देखिएको छैन । बरु, नेपालले केके पाउँछ भन्ने चासो मात्र देखिन्छ । नेपालको विकास र समृद्धिका लागि चीनले कसरी सघाउँछ भन्ने चासो अहिले सर्वत्र छ । नेपालको पहिलो र परम आवश्यकता भनेको औद्योगिकरण हो । नेपालको औद्योगिकरणमा चीनले कसरी सघाउँछ र औद्योगिकरण सम्बन्धमा प्रधानमन्त्री ओलीले कस्तो सहकार्य गर्नुहुन्छ भन्ने जनचासो छ । अर्थात्, पाउने गरी प्रधानमन्त्री जानुभएको छ, देशको हित र स्वार्थलाई सर्वाेपरी बनाएर प्रधानमन्त्री चीन जानुभएको छ ।

चीनसँग नेपालको विवादको राजनीतिक एजेण्डा कुनै छैन । चीनसँग साच्चै भन्ने हो भने नेपालको कुनै पनि विवाद छैन । त्यसैले चीन भ्रमणका बेला राजनीतिक एजेण्डामा नेपालभित्र चर्चा र बहस हुने गरेको छैन ।

केपी ओलीको चीन भ्रमणको सेरोफेरोमा एउटा प्रसंगले भने सारा नेपाली लज्जित भएका छन् । नेपालको स्वतन्त्रता र स्वाभिमानमा ठेस पुराउने प्रयास भएको छ । यस्तो प्रयास देशभित्रैबाट भएको हो । त्यो घटना के भने चीनसँग ऋण लिन पाइँदैन, अनुदान मात्र लिनुपर्छ भनेर प्रोक्सी पात्रहरुले अभियान नै चलाए । कुनै पनि सार्वभौम र स्वाभिमानी देशले ऋण नलिने, अनुदान मात्र लिने भन्न सुहाउँदैन । यो लाजमर्दाे कुरा हो । ऋण र अनुदानमा के फरक छ भन्ने तपाईंहरुले बुझ्नुभएकै छ । ऋण भनेको ऋण हो, पछि तिर्ने हो । अनुदान भनेको भिख मागेजस्तो हो । कुनै देशले तिमीलाई यस्तो अनुदान दिन्छु भन्छ भने सहयोग हो । त्यसो नभएर हामी ऋण लिँदै लिँदैनौं, तिमीले हामीलाई तिर्न नपर्ने गरी सहयोग दिनुपर्छ भन्नु भनेको भिख माग्नुजस्तो हो ।

यो भ्रमणमा केके उपलब्धी हुन्छ भन्ने अहिले नै म भविष्यवाणी गर्दिनँ । भ्रमण सकेर प्रधानमन्त्री फर्कनुभएपछि उपलब्धी बारे म अवश्य चर्चा गर्नेछु ।

प्रधानमन्त्रीको चीन भ्रमण यस्तो बेला भइरहेको छ जतिबेला विश्व राजनीति असाध्यै तातिएको छ । जताततै युद्धको अवस्था सिर्जना भएको छ । आणविक युद्ध नै होला कि भन्ने चिन्ताले विश्व ग्रस्त छ । शक्ति राष्टहरुले एकआपसमा अनेक धम्की दिइरहेका छन् । मुख्य गरी अमेरिकाले अहिले नै विश्वयुद्ध गराउने हो कि भन्ने त्राश बढेको छ । विश्वयुद्ध नै नगराए पनि ठूलो युद्धमा विश्वलाई धकेल्ने प्रयास भइरहेको छ । विश्व राजनीतिको प्रमुख खेलाडि चीन हो र त्यो चीन देशमा हाम्रा प्रधानमन्त्री जानुभएको छ ।

तपाईंहरुलाई थाहै छ, चीनलाई घेर्ने अमेरिकी रणनीति छ ।

आउँदो जनवरी २० तारेखबाट अमेरिकामा डोनाल्ड ट्रम्प औपचारिक रुपमा राष्टपति बन्ने हो । राष्टपति बनेपछि आफू चीन विरुद्ध केन्द्रीत हुने ट्रम्पको घोषणा छ । अमेरिकाको चीन घेर्ने रणनीति कार्यान्वयन गर्न नेपाल महत्वपूर्ण राष्ट हो । यो कारण नेपालमा अमेरिकी चासो र उपस्थिति बढेको बढ्यै छ । नेपालको विकास, निर्माण, नेपालको औद्योगिकरण, नेपालको समृद्धिका लागि अमेरिकी चासो र उपस्थिति बढेको थियो भने हामी खुसी हुन्थ्यौं । तर, अरुका विरुद्ध नेपाललाई प्रयोग गर्ने रणनीति अनुसार अमेरिका सक्रिय छ । यसकारण पनि प्रधानमन्त्रीको चीन भ्रमणको गम्भीर महत्व छ ।

विश्व राजनीति अति जोखिमपूर्ण बनेको छ । बलिया देशले कमजोर देशलाई अरु विरुद्ध प्रयोग गर्ने काम भइरहेको छ । नेपाल कसैबाट प्रयोग हुनु हुँदैन । नेपालको कोही पनि सत्रु छैन, मित्र मात्र छ । यो मान्यता प्रधानमन्त्री केपी ओलीले राख्नुहुन्छ । तसर्थ उहाँको चीन भ्रमणमा पनि यही विचार मुखरित हुने विश्वास लिन सकिन्छ ।

अन्तराष्टिय राजनीति बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र अर्कै हुन्छ । कुनै पनि देशमा आन्तरिक एकता राम्रो भयो भने विश्व राजनीतिमा दह्रोसँग खुट्टा टेक्न सकिन्छ र राष्टिय हित गर्न सकिन्छ । नेपालको आन्तरिक एकता खल्बलाउन अनेक कोणबाट प्रयत्न हुँदै आएको छ । अहिलेकै प्रसँगमा पनि हामीले के देख्यौं भने चीन भ्रमण अघि नै सरकार ढाल्न सकिन्छ कि भनेर कैयनले प्रयास गरे । चीन सँगको सम्बन्ध र बिआरआईको प्रसंगमा एमाले र कांग्रेसको सहमति हुन नदिने अनि त्यही बहानामा सरकार ढाल्ने प्रयास नभएको होइन । चीनसँगको सम्बन्धबारे कांग्रेस र एमालेको विचार बाझोस् भनेर धेरैले भाकल गरेका थिए । एकजना पूर्व प्रधानमन्त्रीले त नेपाल चीन सम्बन्ध बारे भारतीय मिडियामा विष वमन गरेको पनि देख्न पाइयो ।

चीनसँगको सम्बन्धबारे एमाले र कांग्रेसको साझा विचार बन्नु भनेको असाधारण घटना हो । यसले नेपालको विदेश नीति कार्यान्वयनमा कोषे ढुंगाको काम गर्नेछ । नेपालका मुख्य राजनीतिक शक्तिहरुलाई आपसमा फुटाएर स्वार्थ सिद्ध गर्ने काम गर्दै आएका विदेशी शक्तिहरु प्रधानमन्त्रीको चीन भ्रमणबाट इन्तु न चिन्तु बनेका होलान् ।

औद्योगिकरण, विकास र समृद्धिका दृष्टिले विश्वकै उदाहरणीय र सबैभन्दा सफल देश चीनको भ्रमणबाट हाम्रा प्रधानमन्त्री फर्कनुभएपछि केके अपेक्षा गर्ने ? यसको विविध पक्ष हुनसक्छ ।

प्रधानमन्त्री एअरपोर्टमा प्लेनबाट झर्दै गर्दा, प्रधानमन्त्रीको पाइलाले नेपाली धरती टेक्दै गर्दा त्यसपछि नयाँ युग आउने अपेक्षा गर्नैपर्छ । प्रधानमन्त्री फर्किएपछि नेपालबाट विदेश उड्ने प्लेनमा नेपाली युवाहरुको संख्या घट्दै जानुपर्छ । नेपाली युवाले भरिएको विमान होइन, नेपाली औद्योगिक उत्पादनले भरिएको विमान विदेश उड्ने दिन आउनुपर्छ । यस्तो सपना देख्ने राजनेता नेपालमा केपी शर्मा ओली मात्र हो र यस्तो सपनालाई विपनामा परिणत गर्ने क्षमता केपी शर्मा ओलीमा मात्र छ । यो कारण पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई नेपाली जनताले असाधारण घटनाका रुपमा लिएका छन् ।

हस् त यो चर्चा यति नै, प्रधानमन्त्री स्वदेश फर्कनुभएपछि फेरि तपाईहरु समक्ष उपस्थित हुनेछु । धन्यवाद ।


7.2k
Shares

प्रतिक्रिया दिनुहोस !