१९ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा लगानीमैत्री वातावरण छ, क्रेडिट रेटिङले पनि यसकाे पुष्टि गर्‍याे : अर्थमन्त्री

प्रकाशित मिति :  १७ मंसिर २०८१, सोमबार १७:५६


काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा लगानीका लागि उपयुक्त वातारण रहेकाे बताउनुभएकाे छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पाैडेलले नेपाल सरकार व्यवसायमैत्री वातावरण तयार पार्न प्रतिबद्ध रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘हामी नेपालमा व्यवसायीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध छाैं र विकासका लागि यहाँहरुबाट प्राप्त स्राेत-साधनकाे बढी भन्दा बढी उपयाेग गर्न तत्पर छाैं ।’

नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको भन्दै अर्थमन्त्री पौडेलले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउने र बाह्य लगानी वृद्धि हुने पनि बताउनुभयाे ।

नेपाल सरकारले नयाँ विकास सहायता परिचालन नीतिकाे मस्याैदा तयार गरिरहेकाे भन्दै उहाँले त्यसले वर्तमान विकास सहायताकाे रणनीति र ढाँचाबारे अझ स्पष्टता प्रदान गर्ने बताउनुभयाे । यसका लागि विकास साझेदारहरुबाट सचनात्मक सुझावकाे अपेक्षा गरिएकाे उहाँले बताउनुभयाे ।

आर्थिक सुधारलाई अझ सुद‍ृढ बनाउन अर्थ मन्त्रालय प्रतिबद्ध रहेकाे भन्दै अर्थमन्त्री पाैडेलले सुझाव र प्रतिक्रिया दिएकाेमा विकास साझेदारहरुलाई सम्मान व्यक्त गर्नुभयाे ।

सरकारले हालै गठन गरेकाे उच्चस्तरीय आर्थिक सुधार सुझाव आयाेगले यस विषयमा सक्रियतापूर्वक काम गरिरहेकाे भन्दै उहाँले आयाेगलाई रचनात्मक सुझाव दिन पनि आग्रह गर्नुभयाे ।

दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन गरेकाले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता आर्थिक विकासमा केन्द्रित भएको अर्थमन्त्री पाैडेलकाे भनाइ थियाे । सरकारले पूर्वाधार विकास, मानव संशाधन विकास र निजी क्षेत्रका लागि लगानीको राम्रो वातावरण सिर्जना गर्न जोड दिएको उहाँले बताउनुभयाे ।

सार्वजनिक ऋणको भारबाट तत्काल अत्तालिनु पर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पौडेलले लामो समयसम्म दिगो बनाईराख्न ऋण परिचालनलाई पुनः प्राथमिकीकरण गर्न आवश्यक रहेकाे बताउनुभयाे ।

सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सरकारले जोड दिएको भन्दै उहाँले सार्वजनिक लगानीमा र हरित अर्थव्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलन पहलहरूमा विकास साझेदारहरूसँग सहकार्य गर्न सरकार उत्सुक भएको बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !