२२ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई हरायो

प्रकाशित मिति :  १९ मंसिर २०८१, बुधबार १३:२३


काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

एनपिएलमा काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो । आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको थियो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा कप्तान करण केसीले कप्तानी इनिङ खेले । १० बलको सामना गरेका उनले २८ रन जोडे । करणले २ चौका र २ छक्का हिर्काए ।

सुमित महर्जनले ४० रन जोडेको खेलमा जेरार्ड एरास्मसले ३८ तथा माइकल लेभिटले २२,भीम सार्की ८ र शंकर राना ६ रनमा आउट भए । बलिङतर्फ कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन प्रसाद शर्माले समान १ विकेट लिए ।

यसअघि भारतीय खेलाडी शिखर धवनको आक्रामक ब्याटिङको मद्दतमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती पेश गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोडेको हो ।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे । ५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए । धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपीएलको छैटौं अर्धशतक हो ।

उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।


113
Shares

प्रतिक्रिया दिनुहोस !