३ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीको दूरगामी दृष्टिकोणको कारण प्राचीन र ऐतिहासिक महत्वका सम्पदा गुणस्तरयुक्त बने : चिरीबाबु महर्जन

प्रकाशित मिति :  २ पुष २०८१, मंगलवार १५:३३


काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले केपी ओलीको दूरगामी दृष्टिकोणको कारण प्राचीन र ऐतिहासिक महत्वका सम्पदा गुणस्तरयुक्त बनेका बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले केपी ओली प्रधानमन्त्री हुँदा ऐतिहासिक सम्पदा बनाउने सम्बन्धी छुट्टै ऐन बनाइदिएका कारण निर्माण व्यवसायीले बदमासी गर्न नपाएका बताउनुभयो । ललितपुरमा २०७२ सालको भूकम्प पछि क्षति भएका पुरातात्विक महत्वका सम्पदाहरू एक नम्बरका बनेका महर्जनले दाबी गर्नुभयो ।

केही निर्माण व्यवसायीको लापरबाहीका कारण ललितपुरमा कतिपय संरचना निर्माणको काममा ढिलाइ भएको भन्दै उहाँले प्रधानमन्त्रीलाई त्यसमा हस्तक्षेप गर्न अनुरोध गर्नुभयो । प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने हो भने ती काम पुरा नहुने स्थिति बनेको महर्जनले बताउनुभयो ।

महर्जनले धापाखेलको बाटो निर्माणमा भएको ढिलाइको कारण आफूहरूलाई निक्कै समस्या भएको बताउनुभयो । यसले महानगलाई निक्कै अप्ठेरो पारेको महर्जनले सुनाउनुभयो । नेपाल सरकारसँग सो सडक बनाउने बजेट नभए मुआब्जा केन्द्र सरकारले दिएमा सडक निर्माणको काम महानगरले गर्ने उहाँले बताउनुभयो ।

महर्जनले ललितपुर महानगरपालिका सबैभन्दा सफा नगर बन्ने अभियानमा लागेको जानकारी दिनुभयो । ‘हामी ललितपुर नगरपालिकालाई सबैभन्दा सफा नगरपालिका बनाउन चाहन्छौँ’, उहाँले भन्नुभयो ।

उहाँले सबैभन्दा लामो दिन ज्येष्ठ पूर्णिमालाई नेपालको म्युजिक डे घोषणा गर्न पनि माग गर्नुभयो । त्यसको इतिहास ललितपुरसँग जोडिएकोले सो दिनको विशेष महत्त्व हुने उहाँले स्पष्ट पार्नुभयो ।


1k
Shares

प्रतिक्रिया दिनुहोस !