२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शेरा दरबारको जग्गाका विषयमा अनुसन्धान हुन्छ : गृहमन्त्री

प्रकाशित मिति :  १८ पुष २०८१, बिहीबार १५:१७


काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको भन्दै कानुन बमोजिम कारवाही अगाडि बढाउने बताउनुभएकाे छ ।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गैर कानुनी ढंगले गएको फिर्ता हुन्छ तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु’ भन्दै जवाफ दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,‘शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको छ । अनुसन्धान हुन्छ । र कानुन बमोजिम कारबाही अगाडि बढ्छ । यदी त्यो जग्गा गलत ढंगले कसै व्यक्ति, कम्पनीका नाममा गएको भने त्यो फिर्ता हुन्छ । पूर्वप्रधानमन्त्री प्रचण्डजीले यदी गैर कानुनी ढंगले गएको छ भने त्यो फिर्ता हुनुपर्छ भन्नु भएको छ । उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ । तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु भए हुन्छ । सरकारले यसमा गर्नुपर्ने काम गर्छ । धन्यवाद लिन्छ ।’

प्रचण्ड कारवाही भोग्न तयार

बैठकमा प्रचण्डले राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भनेपनि छानबिनको दायरामा ल्याउन आग्रह गर्नुभएकाे थियाे ।

उहाँले आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानून बमोजिम ल्याउनुपर्छ । यदी छानबिन गर्दै जाँदा प्रचण्ड नै देखाप¥यो भने त्यसलाई पनि छानविनको दायरामा ल्याउनुपर्छ । दोषीलाई कारबाही गरियोस् सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु ।

कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको कयौं रोपनी जग्गा सरकारको नाममा ल्याइयो त्यसरी नै शेरा दरबारको पनि भयो भने जग्गा पनि म सरकारलाई लागि सहयोग मात्र होईन् धन्यवाद पनि भन्नेछु ।

फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक आजित छन् : गगन थापा

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली ,पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको फाइल टुंगो लगाउनुपर्ने बताउनुभएकाे छ ।

फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था रहेको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै तीन जनालाई बालाएर कुन–कुन कण्डको फाइल खोल्ने हो टुंगो लगाउन सुझाव दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘यहाँ पूर्वप्रधानमन्त्री आजको बैठकमा आउनुभएको छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । बरु अर्को एकजना पूर्वप्रभानमन्त्रीलाई चाँही आमन्त्रित गरेर भएतापनि यही समितिमा बसरे छलफल गरौं । भ्रष्टाचारको कुन–कुन कण्डको फाइल खोल्ने हो टुंगो लगाउँ । फाइल खोल्दीन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था छ ।’


339
Shares

प्रतिक्रिया दिनुहोस !