रहनुभएन पूर्व राजपरिषद् स्थायी समिति सदस्य गणेश बज्र लामा
काठमाडौं । पूर्व राजपरिषद् स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको ९० वर्षको उमेर निधन भएको छ ।
बौद्ध स्तुपाको पूर्व प्रमुख धर्मगुरु चिनियाँ लामा समेत रहनुभएका लामाको चावहिल स्थित ओम अस्पतालमा शुक्रबार मध्यान्ह उपचारको क्रममा निधन भएको हो ।
बौद्धको प्रमुख धर्मगुरु रही समाजसेवीको रुपमा स्थापित धर्मगुरु लामा राजाको शासन कालामा बौद्धको प्रमुख धर्मगुरुको पदमा रहेकै अवस्थामा उहाँलाई राजपरिसद स्थायी समिति सदस्यमा नियुक्त गरिएको थियो ।
एक दर्जन बढी भाषाको ज्ञाता रहनुभएका उहाँले राजपरिषद् स्थायी समितिमा रहँदा मुलुकको हित र तत्कालीन शासन सञ्चालनमा ठूलो योगदान पुर्याउनु भएको थियो । लामाले बौद्ध क्षेत्रको विकासमा विशेष योगदान पुर्याउनु भएको थियो । उहाँले नेपाल–चीन सम्बन्ध विस्तारमा पनि भूमिका खेल्नुभएको थियो ।
हाल काठमाडौं महानगरपालिका वडा नम्बर-६ को वडा कार्यालय तथा प्रहरी बृत बौद्धको तत्कालिन प्रहरी चौकी समेत उहाँकै पहलमा स्थापना भएको थियो ।