प्रदेशसभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित हुन्छः मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले स्वच्छ, मर्यादित भएर कलम चलाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, मोरङ समितिको नवौँ अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सत्यतथ्यका आधारमा समाज परिवर्तनका लागि समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।
उहाँले प्रदेशसभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित गरी कानुन बनाउने जानकारी दिँदै यसबाट यस क्षेत्रका सञ्चारकर्मीहरुको वृत्तिविकासमा ठूलो सहयोग पुग्ने विश्वास जनाउनुभयो ।
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले समाजमा पछाडि परेका जनताको समाचार सम्प्रेषणमा प्राथमिकता दिन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरे, पार्टीका मोरङ अध्यक्ष बाबुराम कार्कीले प्रविधिको प्रयोगमार्फत सञ्चारकर्मीहरु दक्ष हुनुपर्ने सुझाव दिनुभयो ।¬
सोही अवसरमा मुख्यमन्त्री कार्कीले शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार अरुण खबरका प्रधान सम्पादक महेन्द्र विष्टलाई प्रदान गर्नुभयो । मुख्यमन्त्री कार्कीले विष्टलाई नगद रु २१ हजारसहित सम्मान गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
-रासस