१५ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाघ खोज्न चार स्थानमा क्यामेरा जडा

प्रकाशित मिति :  १४ माघ २०८१, सोमबार १२:२०


नेपालगञ्ज । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ ।

सो कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार क्यामेरा जडान भएको जानकारी दिनुभयो । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको उहाँको भनाइ छ ।

“जडान गरेको केही दिन भएको छ, तर अहिलेसम्म केही देखिएको छैन”, उहाँले भन्नुभयो । निकुञ्ज वरिपरिका बासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह गरिएको पनि प्रमुख शर्माले बताउनुभयो । क्यामेराको सहयोगले बाघबारे सही जानकारी हासिल हुने उहाँको भनाइ छ ।

बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जङ्गली बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि सो वन क्षेत्रमा क्यामेरा जडान गरिएको भगवती सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले बताउनुभयो । गत बुधबार राप्तीसोनारी गाउँपालिका –८ की ६७ वर्षीया चेती बुढाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

स्थानीयका अनुसार सो जङ्गलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायो भने देखिने गरेको थियो । यसअघि पनि गाउँलेका १) वटा बाख्रा बाघले मारेको थियो । सो सामुदायिक वननजिक बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्छ ।

-रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !