९ फाल्गुन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दानव र राक्षस प्रवृत्ति बारेमा बोल्नैपर्ने भयो– गोविन्द थापा

प्रकाशित मिति :  ४ फाल्गुन २०८१, आईतवार १५:०२


काठमाडौं । दानव र राक्षस प्रवृत्ति बारेमा बोल्नै पर्ने भयो भन्दै समाजिक सञ्जाल फेसबुकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा राजनीतिक विश्लेशक गोविन्द थापाले एउटा स्टाटस लेख्नु भएको छ ।

उहाँले आइतबार पोखरामा भएको बेलुन दुर्घटनामा घाईते हुनुभएको उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको घटनना प्रति लक्षित गर्दै सो कुरा उल्लेख गर्नु भएको हो ।

उहाँले लेख्नुभएको छ – ‘अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य वेलुन विस्फोट दुर्घटनामा घाइते हुनुभयो । दुर्घटनाले पद चिन्दैन, उहाँहरु मानिस हो, घाइते हुनुभयो । यस्ता दुर्घटनामा जुनसुकै पद, उमेर, जात, धर्म, लिङ्ग, वर्ण या राष्ट्रियताका मानिस घाइते हुँदा हामी दुःखी हुन्छौं । तर, खुसी हुने मानिस पनि देखिए । यस्ता घटनामा खुसी हुनेलाई मानिस भन्ने कि राक्षस ? म अन्यौलमा परेको छु । पोखरा घटनामा घाइते हुने विष्णु पौडेल र धनराज आचार्य विरुद्ध साइबर सञ्जालमा केही मानिसहरुले लेखेको अति अति नै अमानवीय गाली र ती गालीमा ताली दिने केही मानिसहरु देखेर म आश्चर्यचकित भएको छु ।

मानिस यतिसम्म गिर्न कसरी सक्छ ? हाम्रो समाजमा राक्षसी प्रवृत्तिका मानिसहरु यसरी प्रकट हुनु, त्यस्ता प्रवृत्तिका मानिसलाई कतिपयले ताली सहित प्रशंसा गर्नु दुःखद छ । यस्ता मानिस अहिले मात्र देखिएका होइनन्, विगतमा विभिन्न चर्चित व्यक्तित्वहरु, खासगरी नेताहरुको निधन हुँदा खुच्चिङ भन्दै खुसी मनाउने मानिस फाटफुट देखिएका थिए । हामी मानिस हौं, मानिस र मानिस बीच कैयन प्रकारका असहमति हुन्छ ।

राजनीतिक नेताहरु मन नपरेको हुन सक्छ । आफूलाई मन नपरेको या असहमति भएको मानिसको निधन हुँदा या दुर्घटनामा पर्दा खुसी हुन कसरी सक्छन् ? त्यस्ता मानिसहरु देखेर म छक्क पर्छु । पार्टी, विचार, निजी स्वार्थभन्दा धेरै नै माथि हुन्छ मानवता र मानवीय भावना ।

जब मानिसको मनबाट मानवता हराउँछ, ऊ मानिस रहँदैन, राक्षसमा परिणत हुन्छ । साइबर सञ्जालबाट मानिसलाई राक्षस बन्न प्रोत्साहित गर्न खोजिँदैछ, सामाजिक सञ्जालबाट सामाजिकता र मानवीयताको प्रवद्र्धन नगरेर असामाजिकता र दानवीयताको प्रवद्र्धन गर्ने काम भइरहेको छ ।

अरुको चरित्र हत्या गर्ने, अनर्गल आरोप लगाउने, दानवीय विचार प्रकट गर्ने जस्ता प्रवृत्ति साइबर सञ्जालमा सामान्य हुँदै गएको छ । स्वतन्त्रता भनेको गति छाड्नु होइन, स्वतन्त्रताको नाममा सामाजिक मर्यादा बाहिर गएर घाइतेहरुलाई सत्तोसराप गर्न पाइँदैन । असामाजिक, अमानवीय, राक्षसी, दानवी विचार र व्यवहार देखाउनेलाई कडा कारवाही गर्दा स्वतन्त्रता हनन हुँदैन भन्ने मेरो विचार छ । त्यसैले सामाजिक सञ्जाललाई नियमन गर्न कडाभन्दा कडा कानुन जरुरी छ ।’


226
Shares

प्रतिक्रिया दिनुहोस !