रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधरणका लागि खुला गरिने

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले ६४औँ वार्षिकोत्सवका अवसरमा ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधरणका लागि खुला गर्ने भएको छ । भोलि फागुन ७ गते आयोजना हुने वार्षिकोत्सव मूल समारोहका अवसरमा समाचार बुलेटिन सर्वसाधारणका लागि खुला गरिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो ।
विसं २०१८ फागुन ७ गते रासस स्थापना भएदेखि हालसम्मका समाचार बुलेटिनलाई सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । राससको महत्त्वपूर्ण सम्पत्ति र उपलब्धिका रुपमा रहेको समाचार बुलेटिनलाई पत्रकारिता गरिरहेका विद्यार्थी र मिडिया अध्येताका लागि खुला गर्ने निर्णय गरिएको कार्यकारी अध्यक्ष झाले बताउनुभयो । “रासस राज्यको संस्था भएकाले यसका बुलेटिन र समाचार सामग्रीहरु राससको मात्रै नभएर सम्पूर्ण नेपालीको सम्पत्ति हो । ती बुलेटिन अध्ययन अनुसन्धान गर्ने अवसर सबैले पाउनुपर्छ । त्यसैले राससको सञ्चालक समितिको २०८१ माघ २७ गतेको निर्णयअनुसार बुलेटिन कक्ष अध्ययन अनुसन्धानका लागि खुला गरिएको छ,” उहाँले भन्नुभयो ।
रासस समाचार बुलेटिन कक्षले मिडियाको अनुसन्धानमा रुचि राख्ने, आमसञ्चारका विद्यार्थी र क्रियाशील पत्रकारलाई लाभ हुनाका साथै नेपालमा समाचार ‘एजेन्सी’को विकासका सन्दर्भमा अध्ययन गर्न सघाउ पुग्ने राससका महाप्रबन्धक सिद्धराज राईले बताउनुभयो । भूकम्पले राससको भवन भत्काएपछि गोदाममा थुप्रिएका र जीर्ण भएका बुलेटिनलाई सङ्ग्रह गरी राससको इतिहासलाई जीवन्त बनाउन र अभिलेखलाई दुरुस्त बनाउन बुलेटिन कक्ष स्थापना गरिएको महाप्रबन्धक राईले जानकारी दिनुभयो ।
राससले चौबिसै घण्टा राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको छ ।
-रासस