१० फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली जस्तो सक्रिय मान्छे विश्वमा नै कम छन् : राधीका शाक्य

प्रकाशित मिति :  १० फाल्गुन २०८१, शनिबार २१:११


काठमाडौं । प्रथम महिला राधिका शाक्यले आफूहरू सामान्य नागरिक भएको बताउनुभएको छ ।

शनिबार पाणिनि बुक्सद्वारा प्रकाशित उहाँको पुस्तक करुणा लोकार्पण कार्यक्रममा बोल्दै शाक्यले आफूले दुःख गरेर ३३ वर्षसम्म राष्ट्र बैङ्कमा जागिर खाएर एउटा घर जोडेको बताउनुभयो ।

आफूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट घर खर्च चलाउने गरेको उहाँले बताउनुभयो । बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूलाई उहाँले त्यो कुनै दरबार नभई सामान्य घर भएको बताउनुभयो । न हाम्रो बालकोटको घर दरबार हो, त्यो मान्छे बस्ने सामान्य घर हो, मान्छेहरूका आँखाले के के देख्छन्, त्यो उनीहरूको कुरा हो’, उहाँले भन्नुभयो ।

उहाँले आफूहरूको जीवनशैली सामान्य भएको बताउँदै दुःखी, गरिब र असहायहरूलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने बताउनुभयो । ‘जीवनको एक एक हिसाब बुझाउन म तयार छु, हामीले दुई पैसा काहीँ कतैबाट केही गरेर ल्याएका छैनौँ, आफ्नै पसिना र मेहनतबाट घर बनाएका छौँ’, उहाँले भन्नुभयो ।

आफू मात्रै लगाउँदा खाँदा आफूहरू खुसी नहुने उहाँले बताउनुभयो । सबै नेपालीले लाउन खान पाउँदा खुसी लाग्ने शाक्यले स्पष्ट पार्नुभयो । शाक्यले प्रधानमन्त्री ओली जस्तो देशका लागि रात भरसमेत सक्रिय भएर खट्ने मान्छे नेपालमा मात्र होइन विश्वमा कम हुने बताउनुभयो । उहाँलाई मन नपराउने मान्छेले केपी ओली एकदमै अल्छे मान्छे हो भन्ने गरेका उहाँले बताउनुभयो । ‘हिजोको मात्रै कुरा हिजो बिहानदेखि आज बिहान साँढे चार बजेसम्म उहाँले नियमित काम गर्दै हुनुहुन्थ्यो, उहाँ सुत्दा बिहानको पाँच बज्यो होला, उहाँ जस्तो सक्रिय मान्छे नेपालमा मात्र भन्दिन विश्वमा पनि छैन होला’, शाक्यले भन्नुभयो ।

ओलीका बारेमा अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा शाक्यले दुःख व्यक्त गर्नुभयो । होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले कसैलाई पनि होच्याउन नहुने शाक्यको धारणा छ । ‘यस्ता कुराले स्वयम् व्यक्तिलाई नै हानी हुने उहाँले स्पष्ट पार्नुभयो । मान्छेहरूले कमेण्ट गर्न पायो भन्दैमा, होच्याउन पायो भन्दैमा कुनै पनि ढङ्गले नमिल्ने गरी होच्याउन मिल्छ जस्तो लाग्दैन’, शाक्यले भन्नुभयो ।


339
Shares

प्रतिक्रिया दिनुहोस !