पूर्व राजालाई साथ दिने केही तरिका

-मिना विश्वकर्मा
केही सातापछि बैशाख १ अर्थात् नयाँ वर्ष आउनेछ । नयाँ वर्षको उपलक्ष्यमा सबैले शुभकामना दिन्छन्, राजनीतिको शीर्ष तहमा रहेकाहरुले अनिवार्य शुभकामना दिनेछन् । सबैभन्दा चर्चित शुभकामना पूर्व राजा ज्ञानेन्द्रले दिनेछन् । समाजमा चलिरहेको थितिविधि भन्दा उल्टो या बाहिर गएर विचार राख्नेहरु नै आजकलको भर्चुअल दुनियाँमा चर्चित हुने गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र पनि उल्टो विचार राख्ने व्यक्ति हुन् ।
पूर्व राजा ज्ञानेन्द्रको चर्चा पुष २७ मा हुन्छ, फागुन ७ मा हुन्छ, दशैं तिहारमा हुन्छ, नयाँ वर्षमा हुन्छ । शुभकामना सन्देश दिने यस्तो पर्व तथा मौका ज्ञानेन्द्रले गुमाउँदैनन् । किनभने यस्तै शुभकामना सन्देशमा पूर्व राजाको जीवन बितिरहेको छ । ज्ञानेन्द्रले दिएको अहिलेसम्मकै सबैभन्दा चर्चित शुभकामना सन्देश यसपालि प्रजातन्त्र दिवस फागुन ७ को हो । ज्ञानेन्द्रको कथित शुभकामना सन्देशहरुमा यति चर्चित सन्देश पहिले कहिले पनि भएको थिएन ।
संघीय संसद्देखि प्रदेश संसद्सम्म ज्ञानेन्द्रको कथित सन्देशको चर्चा, निन्दा र विरोध भइरहेको छ । ज्ञानेन्द्रको यसपालिको सन्देश अनौठो छ । उनले आफूलाई अब जनताले साथ दिनुपर्ने बताएका छन्, अपिल गरेका छन् । देश बिग्रियो रे, देशको अस्तित्व नै खतरामा पर्यो रे, त्यसैले ज्ञानेन्द्रलाई साथ दिनुपर्ने रे । जनताले साथ त दिने तर कसरी दिने ? साथ कसरी दिने भन्ने जनतालाई थाहा छैन ।
के ज्ञानेन्द्र आउँदो चुनावमा उम्मेदवार बन्दैछन् ? अथवा पार्टी नै खोल्दैछन् ? उम्मेदवार बन्ने या पार्टी खोल्ने उद्देश्यले साथ दिन अपिल गरेको हो भने स्वागतयोग्य कुरा हो । लोकतन्त्रमा उम्मेदवार बन्न, राजनीतिक दल खोल्न या दलमा सहभागी हुन हरेक नागरिकले पाउँछन् । ज्ञानेन्द्र पनि यो देशका नागरिक हुन्, त्यसैले उनको यो अधिकार कसैले हनन गर्न मिल्दैन ।
पार्टी खोल्ने या उम्मेदवार बन्ने कुरा ज्ञानेन्द्रले बताएका छैनन् । ज्ञानेन्द्रको चालामाला तथा उनी समर्थकहरुको गतिविधि र राजतन्त्र फिर्ता ल्याउनुपर्छ भन्नेहरुको क्रियाकलाप हेर्दा पार्टी खोल्न लागेको होइन । ज्ञानेन्द्र प्रत्यक्ष संलग्न भएको नदेखिए पनि पर्दा पछाडिबाट पार्टी चलाइरहेकै छन् । राप्रपा ज्ञानेन्द्रकै पार्टी हो । राप्रपाको अध्यक्ष कसलाई बनाउने र कसलाई हटाउने भन्ने निर्णय ज्ञानेन्द्रले नै गर्छन् । गत महाधिवेशनमा राप्रपामा अध्यक्ष कमल थापालाई हटाएर राजेन्द्र लिङदेनलाई बनाइयो । त्यसपछि मलाई ज्ञानेन्द्रले हटाए भन्दै कमल थापाले सार्वजनिक अभिव्यक्ति दिएकै हो ।
राजतन्त्र समर्थक राप्रपाको आकार देखिएकै हो । राजतन्त्र समर्थक जनता छैनन्, त्यसैले पार्टी खोलेर राजतन्त्र फर्काउन सकिँदैन भन्ने ज्ञानेन्द्रले बुझिसकेका छन् । जनता पक्षमा हुन्थे भने संसद्मा दुई तिहाई ल्याएर वकाइदा संविधान संशोधन गरेर राजतन्त्र फिर्ता ल्याइसक्थे । चुनावको बाटोबाट, जनताको मतबाट राजतन्त्र फर्कन असम्भव छ भन्ने ज्ञानेन्द्रलाई थाहा छ । त्यसैले षडयन्त्रको बाटोबाट राजतन्त्र फर्काउने दाउ हो । ज्ञानेन्द्रले जनतालाई साथ दिनु भनेर गरेको अपिल भोट मागेको होइन, षडयन्त्रमा साथ दिनु भनेर गरेको अपिल हो ।
ज्ञानेन्द्रले जनतालाई साथ दिन अपिल गरिसकेका छन् । अब जनताले साथ कसरी दिने ? साथ दिने तरिका जनतालाई थाहा छैन । राजतन्त्र फर्काउने अभियानमा लागेकाहरुले जसो गरिरहेका छन्, त्यसै गर्नु नै ज्ञानेन्द्रलाई साथ दिनु हो । राजतन्त्र फर्काउने अभियानमा लागेकाहरु अहिले देशमा गलत सूचनाको प्रदूषण फैलाइरहेका छन्, देशमा घृणा, निन्दा, गालीगलौज, चरित्र हत्या जस्ता प्रोपोगण्ड चलाइरहेका छन् । राजनीतिक दल र नेताहरुको चरित्र हत्या गर्ने, देशमा केही पनि भएको छैन भन्दै निरासा फैलाउने काम उनीहरुले गरिरहेका छन् । उनीहरुकै आवाज ज्ञानेन्द्रले बोलेका छन्, देशमा केही भएको छैन भनेर । देशको अस्तित्व नै खतरामा परेको छ भन्न समेत भ्याएका छन् ज्ञानेन्द्रले ।
आन्दोलन नामको प्रोपोगण्डा गर्ने, बंगलादेश या श्रीलंकाको जस्तो तरिकाले झ्याप्पै नारायणहिटीमा पस्ने र आफूलाई राजा घोषणा गर्ने ज्ञानेन्द्रको दाउ हो । चुनावमा सहभागी भइयो भने बढिमा पाँच वर्षका लागि पद पाइन्छ । ज्ञानेन्द्र र उनका आसेपासेलाई पाँच वर्षे कार्यकाल चाहिएको छैन, उनीहरुलाई जुनीभरका लागि पद चाहिएको छ । अझ ज्ञानेन्द्रलाई त जुनीभरीका लागि मात्र होइन, सन्तान दरसन्तानसम्मका लागि पद चाहिएको छ ।
पूर्व राजा ज्ञानेन्द्रको आयु लामो होस् भनी कामना गरौं तर मानिसको ज्यान अजम्मरी हुँदैन । ज्ञानेन्द्रले यो धरतीबाट एकदिन विदा लिनुपर्ने हुन्छ । अनि ज्ञानेन्द्रको देहावसानपछि यो देशले पारसलाई राजाका रुपमा भोग्नुपर्ने ? कल्पना गर्दा पनि कहाली लाग्छ ।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले जुनीभरीका लागि प्रधानमन्त्री पाएको होइन । केपी ओलीलाई हटाउन सकिन्छ, हटाउने विधि छ । त्यस्तो विधिबाट हिजो केपी ओली प्रधानमन्त्रीबाट हटेको हामीले देखेका हौं । शेरबहादुर देउवा र प्रचण्ड पनि प्रधानमन्त्री पदबाट हटेको देखेका हौं । कोही मानिस कुनै पदमा पुगेपछि उसलाई हटाउन पनि सकिन्छ । तर, राजतन्त्र भने जुनीभरीका लागि हो । एउटा परिवारले देशको शासन सत्ता सदाका लागि कब्जा गर्ने कथित राजतन्त्र कसरी स्वीकार्न सकिन्छ ? राजावादी तथा अराजकतावादीहरुले अहिलेका स्थापित दल तथा तिनका नेताहरुलाई बदनाम गर्न विभिन्न अभियान चलाइरहेका छन् । भोलि राजतन्त्र आयो भने शासन सत्तामा भएका व्यक्तिहरु विरुद्ध यसरी बोल्न पाइन्छ ? पक्कै पाइँदैन ।
सोझो बाटोबाट राजतन्त्र फर्कन सम्भव छैन । षडयन्त्रको बाटोबाट राजतन्त्र फर्कन पनि सक्छ तर त्यसका लागि अन्तराष्टिय तहको षडयन्त्र गर्नुपर्ने हुन्छ । नेपालमा ज्ञानेन्द्रको परिवारलाई जुनीभरीका लागि शासन सत्ता दिलाउनका लागि भारत, चीन, अमेरिका, वेलायत जस्ता देशले षडयन्त्रमा साथ दिन्छन् भन्ने पत्याउन सकिँदैन । त्यसैले नेपालमा राजतन्त्र फर्कन असम्भव छ । ज्ञानेन्द्र बाँचिन्जेल चाडपर्व या अवसरहरुमा