नेपालको औद्योगिक तथा लगानी अवसर अन्वेषणका लागि चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रको अवस्था र लगानी सम्भावनाबारे गहिरो अध्ययन गर्न तथा सहकार्यका अवसर खोज्न चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। सो टोलीमा कारोन कन्सल्टेन्ट ग्रुपका टियान सुवान, साथै हाइयु स्टार कम्पनीका झाङ वेइ र वु जुनक्वाओ सहभागी छन्।
इन्डस्ट्रियल जोन नेपालको निमन्त्रणामा नेपाल आएका प्रतिनिधिहरूले खानी, औषधि उद्योग, कृषि, हरित ऊर्जा सवारी साधन, पर्यटन लगायतका क्षेत्रको सम्भाव्यता अध्ययन गर्नेछन्। साथै, नेपालका औद्योगिक पार्कहरूको विकास अवस्था, नीति, लगानी वातावरण र पूर्वाधार सुविधाबारे जानकारी लिने उद्देश्यले उनीहरूको भ्रमण आयोजना गरिएको छ।
भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले स्थानीय व्यवसायी, औद्योगिक संघ–संस्था तथा सरकारी निकायहरूसँग छलफल गर्नेछन्। यी छलफलहरूद्वारा सम्भावित सहकार्यका अवसरहरू पहिचान गरी नेपालमा विदेशी लगानी भित्र्याउने मार्ग खुलाउने अपेक्षा गरिएको छ।
नेपाल-चीन औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले गरिएको यो भ्रमणले नेपालको औद्योगिक विकासमा योगदान पुर्याउने तथा वैदेशिक लगानी आकर्षित गर्ने विश्वास गरिएको छ।