१७ फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ट्रम्प र जेलेन्स्कीको विवादमा गोविन्द थापाको गहिरो विश्लेषण

प्रकाशित मिति :  १७ फाल्गुन २०८१, शनिबार २३:०३


काठमाडौं । ट्रम्प जेलेन्स्की टक्करः अब गाह्रो हुनेछ अमेरिकालाई भन्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले आफ्नो फेसबुक पेजमा एक महत्वपूर्ण भिडियो प्रकाशन गर्दै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको पछिल्लो भनाभनको विश्लेषण गहिरो सँग गर्नुभएको छ ।
उहाँले यस घटनामा नेपालको र भविष्यको विश्व राजनीतिमा के हुन सक्छ भनेर समेत चर्चा गर्नु भएको छ ।

थापाले, ट्रम्प र जेलेन्स्की बीचको विवादलाई केवल दुई नेता बीचको व्यक्तिगत मतभेद नभएर, यो एक ठूलो शक्ति सन्तुलन र स्वार्थको टक्करको प्रतिनिधित्व गर्ने घटना भएको बताउनुभएको छ ।

उहाँले समाजिक सञ्जाल फेसवुकमा राखेको भिडियोमा यस्तो बोल्नुभएको थियो— ‘नमरी बाँचे दैवले साँचे अनेक देख्न पाइन्छ भन्ने उखान छ । हिजो राति अचम्मै देखियो । यति अचम्मको घटना टिभीमा लाइभ देखियो कि त्यो घटनाले अहिले विश्वलाई हल्लाइरहेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग परेको भनाभनको दृष्य अनौठो थियो । अन्तराष्ट्रिय राजनीति र कूटनीतिका सम्पूर्ण मर्यादा र सीमा उल्लंघन गरिएको घटना थियो त्यो ।

उनीहरु बीच प्रेस कन्फ्रेन्समा केके भयो तपाईंहरुले देखिसक्नुभएको छ, सुनिसक्नुभएको छ । घटनामा केके भयो भन्ने चर्चा गरेर म तपाईंहरुको समय बर्बाद गर्दिनँ । त्यो घटनाको पृष्ठभूमि के हो र त्यसको परिणाम के आउँछ भन्ने बारेमा म चर्चा गर्छु ।

यो घटना बुझ्न अमेरिकाका तत्काली विदेश मन्त्री हेनरी किसिञ्जरको दुईटा भनाई ध्यानमा राख्नुपर्छ । पहिले म किसिञ्जरको त्यो दुईटा भनाई यहाँहरु समक्ष राख्छु । किसिञ्जरले के भनेका थिए भने अमेरिकाको सत्रु हुनु खतरनाक हुन्छ, अमेरिकाको मित्र बन्नु घातक हुन्छ ।

किसिञ्जरको अर्काे भनाई छ, अमेरिकाको स्थायी सत्रु र स्थायी मित्र कोही छैन, अमेरिकाको स्वार्थ मात्र छ ।

यी दुई भनाईको आजको सन्र्भमा सान्र्दभिकता म एकछिनपछि चर्चा गर्छु, सबैभन्दा पहिले त्यो लाइभ पत्रकार सम्मेलनको चर्चा गरौं ।

डोनाल्ड ट्रम्प र जेलेन्स्कीको लाइभ पत्रकार सम्मेलन जुन भयो, त्यस्तो खालको पत्रकार सम्मेलनको चलन ट्रम्प आएपछि सुरु गरिएको हो । पाहुनालाई ओभल अफिसको एउटा हलमा राख्ने, पत्रकारहरुलाई उपस्थित गराउने, पत्रकारहरुलाई अन्टसन्ट प्रश्न सोध्न लगाउने, पाहुनालाई बोल्ने मौका थोरै दिने, आफूले धेरै बोल्ने, मिलाई मिलाई पाहुनाको अपमान गर्ने र आरोप लगाउने, यस्तायस्ता काम ट्रम्पले पत्रकार सम्मेलनमा गरेको देखिन्छ ।

इज्राइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, भारतका नरेन्द्र मोदी, फ्रान्सका इमानुअल म्याक्रोन, वेलायतका कीर स्टार्मर आदिलाई पनि ट्रम्पले यसरी नै पत्रकार सम्मेलनमा अपमानित गरेको देखियो । ट्रम्पले अपमानित गर्दा भारतका मोदीले चुईंक्क पनि बोलेको देखिएन । ट्रम्पले अपमानित गर्दा तथा एकोहोरो आरोप लगाउँदा बोल्न नसकेको भन्दै भारतमा मोदीको कडा आलोचना भइरहेको छ ।

किर स्टार्मरलाई पनि ट्रम्पले अपमानित गर्न खोजेको देखियो तर स्टार्मरले प्रतिवाद गरे ।

इमानुअल म्याक्रोनले त ट्रम्पको बोली नै बन्द गरिदिए । जेलेन्स्कीलाई जस्तै म्याक्रोनलाई पनि अपमानित गर्ने र अनेक आरोप लगाउने प्रयास ट्रम्पले गरेका थिए । बीचमै कुरा काटेर म्याक्रोनले यसरी जवाफ दिए कि ट्रम्पको बोलि बन्द भयो ।

जेलेन्स्कीसँग हिजो राति जे भनाभन भयो, त्यो उदेकलाग्दो थियो । मैले हिजो राति भनिरहेको छु, उता त दिउँसो नै पत्रकार सम्मेलन भएको हो, यता हामीले चाहिँ राति हेर्यौं ।

अँ, जेलेन्स्कीसँग पत्रकार सम्मेलनमा भनाभन तत्कालको केही शाब्दिक कारणले भएको थिएन । कहिलेकाहिँ शब्द प्रयोगमा तलमाथि हुँदा भनाभन हुनसक्छ । जेलेन्स्की र ट्रम्पको विवाद त्यसरी भएको थिएन ।

जेलेन्स्कीलाई नोकर तुल्य व्यवहार गर्ने, घोर अपमान गर्ने उद्देश्य अमेरिकाले पहिले नै बनाइसकेको थियो । ट्रम्पले जेलेन्स्कीलाई तानाशाह भएको, रुससँग आफैंले युद्ध सुरु गरेको, रकमको दुरुपयोग गरेको जस्ता आरोप ट्रम्पले लगाइसकेका थिए । युक्रेनको मूल्यवान खनिजहरु अमेरिकालाई चाहिएको पनि भनिसकेको थिए । जेलेन्स्कीले देश बेच्न सकिँदैन भनेर सार्वजनिक जवाफ पनि फर्काइसकेका थिए । रुससँग जसरी पनि सम्बन्ध सुधार्ने पक्षमा ट्रम्प थिए, त्यसैले आफ्नो काखमा राखेर हुर्काई बढाई गरेको जेलेन्स्कीलाई बलिमा चढाउने अमेरिकी नियत प्रष्ट भइसकेको थियो ।

जेलेन्स्कीलाई अमेरिका बोलाएर हप्कीदप्की गर्दै मिनरल एग्रिमेन्ट र अन्य अनेक सन्धि सम्झौतामा हस्ताक्षर गराउने उद्देश्य थियो । जेलेन्स्कीले मान्ने लक्षण देखाएनन् । यही कारण ट्रम्प रिसाएका हुन् । कारण चाहिँ यो हो तर अहिले ट्रम्प र एलन मस्कहरुले चाहिँ अरु नै कारण देखाएर दुष्प्रचार गरिरहेका छन् । त्यो पत्रकार सम्मेलनमा जेलेन्स्कीले अमेरिका विरुद्ध अपमान शब्द प्रयोग गरेको, ट्रम्पको अपमान गरेको भनिरहेका छन् ।

कुरा त्यस्तो हुँदै होइन, आफूले भनेको जेलेन्स्कीले नमानेपछि, जेलेन्स्कीले प्रतिवाद गरेपछि विवाद भएको हो ।

जेलेन्स्कीलाई हप्कीदप्की गरेर अमेरिका यो देखाउन चाहन्थ्यो कि हामीसँग सबै देशले टेर्नुपर्छ, हामीसँग ठाडो शिर गरेर कसैले बोल्न हुँदैन । हामीले जस्तो भन्यो त्यस्तै सम्झौता गर्नुपर्छ भनेर विश्वलाई सन्देश दिने ट्रम्पको उद्देश्य थियो ।

आफू राष्ट्रपति बनेपछि अमेरिका विश्वको महाशक्ति होइन, चक्रवर्ती हो भनेर देखाउने ट्रम्पको उद्देश्य देखिन्छ । चलनचल्तीको भाषामा भन्नुपर्दा ट्रम्प राष्ट्रपति बनेपछि अमेरिका भन्ने देश गुण्डागर्दीमा उत्रिएको छ, दादागिरीमा उत्रिएको छ ।

ट्रम्प र जेलेन्स्की बीच जे भयो त्यो बहाना मात्र हो । यो घटना दुई तीनजना व्यक्ति बीचको भनाभन मात्र होइन । विश्वमा बदलिँदै गइरहेको शक्ति सन्तुलन र स्वार्थको टक्कर हो ।

भोलोदोमिर जेलेन्स्कीलाई अमेरिका र युरोपेलीहरुले युक्रेनको राजनीतिमा अविष्कार गरे, चुनाव जिताए, राष्ट्रपति बनाए, त्यसपछि रुससँग युद्ध गर्न पठाए । यो कुरा कसैबाट छिपेको छैन । हिजोको पत्रकार सम्मेलनमा ट्रम्पले यही आशयको कुरा राखे ।

अघि मैले हेनरी किसिञ्जरको भनाई राखेको थिएँ । जेलेन्स्की अमेरिकाका मित्र थिए, मित्र हुनु खतरनाक हुन्छ, मित्रलाई अमेरिकाले रुससँगको युद्धमा होमिदियो । अहिले जेलेन्स्की अमेरिकाका सत्रु बनेका छन्, सत्रु बनेपछि खतरा हुने नै भयो ।

किसिञ्जरले अमेरिकाको सत्रु मित्र कोही छैन, स्वार्थ मात्र छ भनेका थिए । युक्रेन भन्ने शान्त देशलाई युद्धमा होमेर अमेरिका आफ्नो स्वार्थ सिद्ध गर्न लागिपर्यो । पहिले युद्ध गराएर स्वार्थ पूरा गर्न खोज्दै थियो, अहिले युद्ध रोकेर स्वार्थ पूरा गर्न खोज्दैछ ।

यो प्रकरणमा के पनि देखिन्छ भने अमेरिकाले जेलेन्स्की र युक्रेनको मात्र बलि चढाउन खोजिरहेका छैनन्, पूरै युरोपलाई बलिको बोका बनाउन खोज्दैछन् ।

दोस्रो विश्वयुद्धपछिको करिब आठ दशक अमेरिकाको काखमा युरोप मस्त निदाइरहेको थियो । निदाएको युरोपको गला रेट्ने प्रयास अमेरिकाले गर्दैछ । त्यसैले अहिले युरोपेली देशहरु जुर्मुराएका छन् ।

जेलेन्स्कीलाई जे व्यवहार गरियो, त्यसको विश्वव्यापी निन्दा भइरहेको छ । अमेरिकाको साँध जोडिएको क्यानडाले पनि विरोध गरेको छ, वेलायतबाट विरोधको अलि मन्द आवाज आएको छ तर बाँकी युरोपेली देशका नेताहरुले दह्रोसँग युक्रेनको साथमा रहेको घोषणा गरेका छन् । अर्थात्, अमेरिकी दादागिरी, गुण्डागर्दीको कडा प्रतिकार सुरु भएको छ ।

ट्रम्प र जेलेन्स्कीको भनावैरी अहिले सुपरहिट विषय हो तर मुख्य विषय होइन । अहिलेको मुख्य विषय युक्रेन युद्ध कसरी सकिन्छ भन्ने हो । जेलेन्स्की के भन्छन् भने जसले युद्ध सुरु गरेको हो, उसैले युद्ध अन्त्य गर्नुपर्छ । यसमा चाहिँ जेलेन्स्कीले कुरा चपाएको देखिन्छ । युद्ध सुरु अमेरिका र यूरोपले जेलेन्स्की भन्ने पात्र खडा गरेपछि भएको हो । रुसजस्तो महाशक्तिसँग युद्ध गर्न सम्भव हुँदैन भनेर युक्रेन र जेलेन्स्कीलाई त्यसबेला धेरैले सम्झाई बुझाई गरेका हुन् ।

कूटनीति र राजनीति केही नबुझेका, सामाजिक सञ्जालमा चर्चित भएका पात्रलाई अमेरिका र युरोपले बेलुन फुलाए झैं फुलाएका थिए । युक्रेनी जनताले क्षणिक लोकप्रियताको राजनीति गर्ने जेलेन्स्की जस्ता पात्रलाई राष्ट्रपति बनाउनु ठूलो भुल भयो । अहिले पनि अमेरिका र युरोपेली देशहरु विभिन्न देशमा जेलेन्स्की जस्ता पात्रहरुलाई मलजल गरिरहेका छन् । हालै युएसएडले विश्वभरी कसरी पैसा बाँडेर राजनीतिक भाँडभैलो मच्चायो भन्ने खुलासा भएको छ, नेपालमा पनि युएसएडले केके गरेको थियो भन्ने अलिअलि कुरा बाहिर आएको छ । नेपालमा पनि जेलेन्स्की जस्ता पात्रहरु आविष्कार गर्ने प्रयास भइरहेको छ भन्ने चर्चा छ, नेपाली जनताले यो कुरामा सचेत हुनुपर्छ ।

युक्रेन र अमेरिकाको कुरा गर्दागर्दै म नेपालमा आइपुगेछु । आइपुग्नुपर्ने त नेपालमै हो । विश्वमा हुने राजनीतिक घटनाक्रमलाई नेपालले गहिरोसँग हेर्नुपर्छ । विश्व व्यापी तनाव बढिरहेको बेला नेपाल जस्तो देशले होसियार हुनुपर्छ । मैले भनिहालें नि, पहिलो होसियारी नेपालमा जेलेन्स्की जस्ता पात्र खडा गर्ने प्रयासको प्रतिवाद गर्नुपर्छ । नेपालमा धेरै नेता लम्पसारवादी छन् भन्ने थाहा भएकै कुरा हो । विदेशी शक्ति र प्रभावका सामु लम्पसार परिहाल्ने, विदेशीका लागि कसरी कम्फर्टेबल बन्न जस्तोसुकै देशघात गर्न तयार हुने नेता नेपालमा छन् ।

नेपालमा लम्पसारवादी छन् तर नेपालमा केपी ओली र एमाले पनि छन् । अहिले युक्रेन जस्तो दुःखद अवस्थामा फसेको छ, नेपाललाई पनि २०७२ सालमा त्यस्तै अवस्थामा पुराइएको थियो । धन्न, त्यतिबेला केपी ओली प्रधानमन्त्री बन्नुभयो । ओलीले नेपाल र नेपालीलाई काँधमा बोक्नुभयो । नेपाल सहि ठाउँमा थियो, नेपालको केही गल्ती थिएन, त्यसैले नाकावन्दीकै बीच भारतले प्रधानमन्त्री ओलीलाई बोलायो । ओलीले नाकावन्दी नसकि भारत जान्नँ भनेर अडान लिनुभयो । नाकावन्दी खुलाएर भारतले ओलीलाई स्वागत गरेको थियो । भारतमा ओलीलाई विभिन्न सम्झौता गर्न दवाब दिइयो । नेपालको राष्ट्रहित विपरित कुनै पनि सम्झौता गर्दिनँ भनेर ओलीले अडान लिनुभयो । कतिसम्म भने संयुक्त प्रेस विज्ञप्ति समेत नदिई ओली नेपाल फर्कनुभयो । देशको पक्षमा कसरी अडान लिइन्छ भन्ने पाठ जेलेन्स्कीले ओलीबाट सिक्नुपथर््यो ।

हुनत ओली र जेलेन्स्की बीच कुनै तुलना हुँदैन । जेलेन्स्की आफैंमा राजनीतिकर्मी होइनन्, उनी आविष्कार गरिएका पात्र हुन् । चलनचल्तीको भाषामा भन्नुपर्दा उनी बुख्याँचा हुन् । केपी ओली भनेको संघर्ष, त्याग, प्रतिवद्धता, देशभक्तिले खारिएर निखारिएर बनेको नेता हो । अहिले जेलेन्स्कीले अमेरिका समक्ष कडा अडान लिएको भन्दै प्रशंसा पनि भइरहेको छ । हो, जेलेन्स्कीले अमेरिका समक्ष कडा अडान लिएकै हुन् । त्यो अडानको पृष्ठभूमि पनि हेरौं । जेलेन्स्कीले आफ्नो देशलाई खरानी बनाए, त्यो खरानीको व्यापार कसरी गर्ने भन्ने विषयमा जेलेन्स्कीले अडान लिएका हुन् । त्यसैले जेलेन्कीको कथित अडानको कुनै अर्थ र मूल्य छैन ।

अहिलेको विश्व राजनीतिले के देखाइरहेको छ भने अब विश्वव्यापी ध्रुवीकरण तिब्र हुनेछ । अमेरिको दादागिरी अझ बढ्ने देखिन्छ, अमेरिकी दादागिरीको प्रतिकार र प्रतिवाद पनि जमेर हुने देखिन्छ । रुस र अमेरिका एक हदसम्म नजिक आउनेछन् तर रुस केमा सचेत हुनेछ भने अमेरिकाको मित्र हुनु पनि घातक हुन्छ । युरोपेली देशहरुसँग अमेरिकाको दूरी बढ्दै गएको छ, हंगेरी र वेलायत जस्ता देश अमेरिकाको साथमा हुन्छन् कि जस्तो देखिँदैछ तर खेलको अहिले पहिलो चरण मात्र हो । भविष्यको ध्रुवीकरणमा को कता हुन्छ भन्न सकिन्न ।

अन्तिममा म फेरि नेपालकै कुरा गर्छु । हामीसँग अत्यन्त अनुभवी र परिपक्व नेता छन् । अनुभवी र परिपक्व पार्टी छन् । एमाले र कांगे्रसले ७ दशकको इतिहास बोकेका छन् । यिनीहरुले विश्व राजनीति र विश्व राजनीतिको निर्मम पक्ष बुझेका छन् । नेपालसँग केपी ओलीजस्तो सक्षम, विश्व राजनीति बुझेको, राष्ट्रिय हितका लागि मरिमेट्ने नेता हुनुहुन्छ । त्यसैले नेपालमा जेलेन्स्की आविष्कार गर्ने प्रयास सफल हुने छैन, नेपाललाई युक्रेन जस्तो बनाउने षडयन्त्र सफल हुने छैन ।

धन्यवाद । ’


0
Shares

प्रतिक्रिया दिनुहोस !