१० चैत्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनको मूल्य कसले तोक्छ ? किन लगातार बढिरहेको छ मूल्य ?

प्रकाशित मिति :  ९ चैत्र २०८१, शनिबार २०:३७


-मिना विश्वकर्मा

हालै सुनको मूल्य विश्व बजारमा प्रति औंस तीन हजार अमेरिकी डलर नाघेको छ । एक औंस भनेको दुई तोला सात आना भन्दा केही धेरै हो । नेपाली बजार (काठमाडौं) मा सुनको मूल्य प्रति तोला एक लाख ७६ हजार रुपैयाँ नाघेको छ । पाँच वर्ष अघि सुनको मूल्य दुई हजार डलर भन्दा तल थियो । विश्व बजारलाई नियाल्दा सुनको मूल्य आगामी दिनमा अझ बढ्ने देखिन्छ ।

अहिले दिनहुँ सुनको मूल्यले महंगीको नयाँ नयाँ कीर्तिमान बनाएको सुन्न पाइन्छ । सुनको मूल्य लगातार बढिरहेको छ । विभिन्न कारण र बहानाले सुनको मूल्य वृद्धि हुने गरेको छ । पछिल्लो पटक चाहिँ रुस र युक्रेन बीचको युद्धले गर्दा सुनको मूल्य बढ्न थालेको हो ।

रुस र युक्रेन बीच युद्धले विश्वमा व्यापक र दिर्घकालीन प्रभावहरु पारेको छ । सबैभन्दा प्रभावित क्षेत्र हो, सुनचाँदीको मूल्य । युद्ध सुरु भएपछि अमेरिका र युरोपियन युनियनले रुस विरुद्ध कैयन प्रकारका प्रतिवन्धहरु लगाए । त्यस्ता प्रतिवन्ध मध्ये रुसको डलर रोक्का गर्नु पनि थियो । प्रतिवन्धका कारण रुससँग भएको डलर नचल्ने भयो । विदेशमा भएको रुसी स्वामित्वको डलर चलाउन पाएन भने स्वदेशमा भएको डलर पनि चलाउन पाएन । रुसमाथि लगाइएको डलर प्रतिवन्धको प्रत्यक्ष प्रभाव अहिले सुनचाँदीको मूल्यमा देखिँदैछ ।

दोस्रो विश्वयुद्ध सकिने अवस्थामा पुगेको बेला अमेरिकाको ब्रेटन उडमा ४४ देशहरुको सम्मेलनले एउटा सम्झौता गर्यो । ब्रेटन उड सम्झौताले डलरलाई सर्वस्वीकार्य अन्तराष्टिय मुद्रा घोषणा गर्यो । रुस युक्रेन युद्धपछि डलर सर्वस्वीकार्य मुद्रा रहेन । किनभने अमेरिकाले रुसी डलर रोक्का गरिदियो । अमेरिकाले विगतमा कहिले पनि कसैको पनि डलर रोक्का गरेको थिएन । पहिलो पटक रुसी डलर रोक्का भएपछि विश्वका सबै देशहरु झस्किए । किनभने भविष्यमा आफूसँग भएको डलर पनि अमेरिकाले रोकिदिने डर भयो । त्यसको असर सुनको मूल्यमा पर्न गयो । किनभने सबै देशहरुले आफ्नो ढुकुटीमा डलरको मात्रा घटाउँदै सुनको मात्रा बढाउन थाले ।

विभिन्न देशका केन्द्रीय बैंकहरुले ठूलो परिमाणमा सुन किन्न थालेपछि मूल्य बढ्न थालेको हो । त्यस अघि कोभिड महामारीको बेला पनि सुनको मूल्य बढेको थियो ।

विभिन्न देशका केन्द्रीय बैंकहरुले आफ्नो भण्डारमा विदेशी मुद्रा, सुन, चाँदी राख्ने गरेका छन् । विदेशी मुद्रामा मुख्य गरी डलर नै सबैले भण्डारमा राख्ने गर्थे । अहिले पनि विदेशी मुद्राको संचितीमा डलर नै अग्रपंक्तिमा छ । रुसको डलर रोक्का भएपछि डलरको विश्वशनीयता घट्यो । फलतः केन्द्रीय बैंकहरुले सुनलाई प्राथमिकता दिन थाले ।

अहिले टर्की, चीन, रुस, इरान, भारत, सिंगापुर, कतार, पोल्याण्ड, उज्बेकिस्तान, इजिप्ट लगायतका देशहरुले ठूलो परिमाणमा सुन किनिरहेका छन् । टर्कीले गत पाँच वर्षमा सातसय टन सुन किनेको छ । चीनले गत तीन वर्षमा ६ सय टनभन्दा धेरै सुन किनेको छ । रुसले पाँच सय टन, भारतले साँढे तीन सय टन सुन किनेको छ ।

यी देशहरुले विभिन्न कारणले सुन किन्ने गरेका छन् । डलरप्रतिको निर्भरता घटाउन, विदेशी मुद्राको विविधिकरण गर्न, आफ्नो देशको मुद्राको मूल्यलाई स्थिरता दिन सुन किनिएको हो । सुनको औद्योगिक प्रयोग पनि बढ्दै गएको छ । खासगरी इलेक्ट्रोनिक सामानहरुमा सुन प्रयोग हुने गरेको छ । हामीले प्रयोग गर्ने स्मार्ट फोनको चिप्समा पनि सुन प्रयोग गरिएको हुन्छ ।

केन्द्रीय बैंकहरु बाहेक विभिन्न वित्तीय संस्था तथा व्यक्तिहरुले पनि ठूलो परिमाणमा सुन किन्ने गरेका छन् । जसरी घरमै बसेर शेयर बजारबाट कुनै कम्पनीको शेयर किन्न सकिन्छ, त्यसैगरी सुन पनि किन्न सकिने वुलियन मार्केट अन्य देशहरुमा छ ।

यस्ता विभिन्न कारणहरुले सुनको माग बढ्यो । माग बढेको हुनाले सुनको मूल्य बढेको हो । सुन खानीबाट सुन निकाल्न र त्यसलाई प्रशोधन गर्न लाग्ने खर्च (लागत) बढेको हुनाले पनि सुनको भाउ बढेको हो ।

यसरी हुन्छ मूल्य निर्धारण

हामीले दिनहुँ आज सुनको मूल्य यति भनेर सुन्ने गरेका छौं । त्यसरी निर्धारण गरिएको मूल्य सबै ठाउँमा एउटै हुँदैन । जस्तो कि काठमाडौैंमा निर्धारण गरिएको मूल्यभन्दा झापाको मूल्य केही धेरै हुन्छ । अन्तराष्ट्रिय बजारमा निर्धारण गरिएको मूल्य सबै देशमा एउटै हुँदैन । हरेक देशले सुनमा भन्सार र कर लगाएको हुन्छ । त्यसरी लगाइएको भन्सार र करको रकम थपेर सुनको मूल्य निर्धारण गरिएको हुन्छ ।

प्राय देशमा केन्द्रीय बैंकले सुनको मूल्य निर्धारण गर्छ । अन्तराष्ट्रिय रुपमा सुनको किनबेच डलरमा हुन्छ । डलर कमजोर बन्दा सुनको मूल्य स्वत बढ्छ । किनभने विश्वभरी डलरमा लगानी गर्नुभन्दा सुनमा लगानी गर्नु सुरक्षित मानिन्छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निर्धारण गर्ने केही संस्थाहरु छन् ।

लन्डन बुलियन मार्केट एसोसिएसनले दिनमा दुई पटक सुनको मूल्य तोक्छ, बिहान १०ः३० र दिउँसो ३ः०० बजे मूल्य तोक्छ । सुनको मूल्य तोक्ने अर्काे संस्था हो अमेरिकाको न्यूयोर्क स्थित संस्था कमोडिटी एक्सचेन्ज कमेक्स । त्यसैगरी विश्वका ठूला खानी कम्पनीहरू (जस्तै न्यूमाउन्ट, ब्यारिक गोल्ड) ले उत्पादनको आधारमा मूल्य तोक्छन् ।

नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यलाई आधार बनाएर शनिबार बाहेक अरु दिन बिहान ११ बजे मूल्य तोक्छ । यसरी मूल्य तोक्दा डलर–रुपैयाँको विनिमय दर, भन्सार शुल्क र बजार मागलाई आधार बनाउँछ ।

वास्तवमा सुनचाँदीको मूल्य कुनै एक व्यक्ति र संस्थाले नभएर विश्वव्यापी बजार संयन्त्रले तय गर्छ ।


1.1k
Shares

प्रतिक्रिया दिनुहोस !